मोरङ । तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनमा अदालतबाट दोषी ठहर भएका अध्यक्ष केदारनाथ शर्मासहितका तीन जनालाई बिहीबार सजाय पनि निर्धारण भएको छ।
मोरङ जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्माविरुद्ध ६ वर्ष कैद सजाय र ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र बिगो बराबरकै रकम जरिवाना पनि तोकेको छ।
जिल्ला अदालतका श्रेस्तेदार मणि पोखरेलले दिएको जानकारी अनुसार सहकारीका अध्यक्ष शर्मालाई पीडित राहतकोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश दिएको छ।
सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई दुई वर्ष २ महिना कैद सजाय सुनाएको अदालतले २७ लाख रुपैयाँ बिगो र त्यत्ति नै जरिवाना तोकेको छ। खवासलाई १ लाख ८ हजार पीडित राहत कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको छ ।
त्यसैगरी सहकारीकी सचिव सविना न्यौपानेलाई दुई वर्ष कैद र राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्न अदालतले आदेश दिएको छ।
प्रतिक्रिया दिनुहोस