२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

समृद्धिको बाटोतर्फ लम्कदै गरेको मोरङको पुरानो सदरमुकाम रंगेली

सोमवार , जेठ २७, २०८२

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेली एक समय खण्डहर जस्तै बनेको थियो । सदरपुकाम विराटनगर सरेपछि रंगेलीमा चहलपहल मात्र घटेको थिएन । विकास निर्माणका काम पनि सुस्ताएका थिए ।

१९२७ सालमा मोरङ जिल्लाको सदरमुकाम विजयपुरबाट सारेर रंगेलीमा ल्याइएको इतिहास छ । रंगेलीबाट १९७२ सालमा सदरमुकाम फेरि विराटनगरमा सारियो ।

पहिले गाउँपञ्चायत रहेको विराटनगर २००८ सालमा नगरपालिका घोषणा भएको थियो । त्यसपछि चामत्कारिक रूपमा विराटनगरमा विकास भएको हो । नयाँ सदरमुकाम विराटनगर महानगरपालिका घोषणा भइसकेको छ भने पुरानो सदरमुकाम रंगेली नगरपालिकामा सीमित छ ।

पुरानो व्यापारिक क्षेत्रका रूपमा परिचय बनाएको रंगेली सदरमुकाम विराटनगर सरेपछि रङ हराएको जस्तै बनेको थियो । स्थानीयका अनुसार रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर सरेसँगै त्यहाँका उद्योगी, व्यवसायी विराटनगर नै बसाइँ सरेका थिए । सबै सरकारी अड्डा र अस्पताल पनि विराटनगरमै बने । यति मात्रै होइन, रंगेलीको विकासमा सरकारले पनि पटक्कै ध्यान दिएन ।

No description available.

अहिले रंगेली दक्षिण–पूर्वी मोरङको महत्वपूर्ण शहरका रूपमा स्थापित हुने क्रममा छ । सडक पूर्वाधार विकासका कारण व्यावसायिक चहलपहल पनि बढ्न थालेकाले रंगेलीको चमक बढ्ने क्रममा रहेको छ । रंगेलीले गुमेको आफ्नो पुरानो साख फर्काउदै छ ।

संघीय सरकारले २०७४ सालमा रंगेलीलाई नयाँ सहर घोषणा गरेको थियो । त्यसले गर्दा नी रंगेलीको विकासले नयाँ मोड लियो । नयाँ सहरका लागि रंगेलीवासीले डेढ सय बिघा जमिनको व्यवस्था पनि गरे ।

केही समय अगाडिसम्म पक्की सडक नदेखिने रंगेलीमा अहिले प्रायःसबै सडक पक्की भईसकेका छन् । विराटनगर–भद्रपुर हुलाकी सडक खण्डले रंगेलीको सौन्दर्यलाई बढाएको छ ।

रंगेली बजार मात्र नभएर पूर्वी मोरङको मुख्य केन्द्र पनि हो । धनपालथान र कानेपोखरी गाउँपालिकाको आधा क्षेत्रसहित सुनवर्षी र रतुवामाई नगरपालिकासहित सीमावर्ती भारतीय क्षेत्रको केन्द्रका रूपमा रहेको रंगेलीले पछिल्लो समय रंग फेर्दै जाँदा स्थानीयमा उत्साह बढेको छ ।

पूर्व–पश्चिम राजमार्गलाई जोड्ने रंगेली–कानेपोखरी सडक, रंगेली–टकुवा हुँदै डाइनिया–पथरी सडक र विराटनगर–भद्रपुर हुलाकी सडक निर्माणले रंगेली बजारले नयाँ स्वरूप लिएको छ ।

विकासमा फड्को

रंगेलीको विकास निर्माण तीव्र रूपमा भइरहेको छ । २०७४ को स्थानीय तहको निर्वाचनसँगै रंगेलीले पुरानो लय फर्काउने आशा जगाएको हो । रंगेली विकासको पथमा लम्किएको छ । सडक पूर्वाधारसँगै कृषि र स्वास्थ्य लगायतका क्षेत्रमा उपलब्धिमूलक काम भएको रंगेली नगरपालिकाको दावी छ ।

‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारः आधुनिक र समृद्ध रंगेलीको आधार’ भन्ने मूल नाराका साथ अगाडि बढेको रंगेली नगरपालिकाले विभिन्न योजनाहरूलाई पूर्णता दिइसकेको छ भने केही पूर्ण हुने तरखरमा छन् ।

रंगेली नगरपालिकाले सडकमा लाग्ने हाटबजारलाई व्यवस्थित बनाउन दुई स्थानमा कृषि बजार निर्माण गरिरहेको छ । रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा संघीय सरकारको ३ करोड ५० लाख लागतमा पशुपक्षी बजार निर्माण सम्पन्न गरेको छ भने रंगेली–७ मा संघीय सरकारको २३ करोड र प्रदेश सरकारको सहयोगमा कृषि बजार निर्माणको अन्तिम चरणमा छ ।

No description available.

रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवालले नगरका विभिन्न स्थानमा छरिएर खुल्ला रूपमा व्यापार गरिरहेका साना तथा ठूला व्यापारीहरूलाई लक्षित गरेर कृषि बजार निर्माण गरेको बताए । उनले भने, ‘सडकमा बसेर सागसब्जी बेच्ने साना व्यापारीलाई निशुल्क रुपमा व्यापार गर्न दिने स्थान पनि छुट्याएका छौं ।’

कृषि बजारमा माछा मासु विक्रिवितरणका लागि पनि छुट्टै सटरहरू निर्माण गरिएको उनले बताए । कृषि बजार संचालनमा आएसँगै विभिन्न स्थानमा अव्यवस्थित रूपमा संचालित माछा मासु पसल तथा हाटबजार व्यवस्थित हुने उनको भनाई छ ।

‘पहिलो पटक निर्वाचित हुँदा केही वर्ष बुझ्न मै समय खर्च भयो’, मेयर अग्रवालले भने, ‘कुनै पनि स्थानमा एउटै व्यक्ति दोस्रो पटक पनि निर्वाचित भयो भने महत्वपूर्ण काम हुन्छन् ।’ यही कारणले पनि रंगेलीले फड्को मारेको उनको दावी छ । ‘दोस्रो पटक निर्वाचित हुँदा सबै कुरा बुझिसकेको हुन्छ र आफूले सुरु गरेका योजना पूरा सकिन्छ’, उनले थपे, ‘नयाँ मान्छे निर्वाचित हुँदा उसले आफ्नै योजना ल्याउने र पुराना योजना त्यसै छाडिदिने हुँदा उपलब्धि हुँदैन । अझ उसलाई केही वर्ष त बुझ्न नै लाग्छ ।’

आठ वर्षको अन्तरालमा अन्य थुप्रै उपलब्धिमूलक काम भएका र पूरा हुने क्रममा रहेका उनको भनाइ छ ।

रंगेली–८ मा मुख्यमन्त्री एकीकृत अत्यावश्यक सेवा केन्द्र निर्माणधीन अवस्थामा रहेको उनले बताए छ । कानेपोखरी गाउँपालिका, सुनवर्षी नगरपालिका, थनपालथान गाउँपालिका र रंगेली नगरपालिकालाई यसबाट लाभान्वित हुने उनले बताए ।

मुख्यमन्त्री एकीकृत अत्यावश्यक सेवा केन्द्र सम्भवतः नेपालकै नमूना प्रोजेक्ट भएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले बताए । उनका अनुसार यसमा विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री राखिने छ । जसबाट उक्त क्षेत्रमा विपद् आइपर्दा तत्कालै उद्दार गर्न सहज हुने साहको विश्वास छ ।

No description available.

यस्तै रंगेली–७ मा कृषकहरूलाई लक्षित गरेर ६ सय मेट्रिक टन क्षमताको कोल स्टोर निर्माण भएको छ । प्रदेशसँगको साझेदारीमा सामुदायिक भवन निर्माण कार्य अघि बढाइएको र भवन सुविधासम्पन्न रहेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।

कानेपोखरी गाउँपालिका, सुनवर्षी नगरपालिका र थनपालथान गाउँपालिकासँगको साँझेदारीमा फोहोर मैला व्यवस्थापनका लागि काम अघि बढाईएको छ । जसमा कुहिले फोहोरबाट मल बनाउने योजनासहित काम अघि बढाइएको उनको भनाइ छ ।

मेयर अग्रवालले वडा नम्बर ४ मा ३० बिघा क्षेत्रफलमा पर्यटकीय स्थल बनाउने काम अघि बढेको बताए ।

यस्तै स्वास्थ्यका क्षेत्रमा पनि रंगेली नगरपालिकाले उल्लेख्य उपलब्धि हासिल गरेको छ । दुई हजार दुई सय परिवारको रंगेली नगरपालिकाले निःशुल्क बीमा गरिदिएको छ । जसबाट नागरिकले सरल र सहज सेवा पाउनका साथै नगर अस्पतालको आम्दानी समेत बढेको छ ।

नगरपालिकाले बीमा गरिदिएका नगरबासी नगर अस्पतालमै उपचार गर्नुहुन्छ’,मेयर मगडियाले भने, ‘अस्पतालले बीमा बापतको रकम दावी गर्दा आम्दानी बढेको छ ।’ यस्तै नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको तथा निशुल्क शवदाहको व्यवस्था गरिदिएको उनको भनाइ छ ।

यसैगरी कृषकका लागि निःशुल्क कृषि मिटरको व्यवस्था गरिएको उनले बताए । जसबाट कृषकहरूलाई राहत मिलेको मेयर अग्रवालको भनाइ छ । कृषि मिटर बापत बार्षिक करिब ७० लाख बराबर विद्युत महशुल नगरपालिकाले बुझाउने गरेको छ ।

रंगेलीको सौन्दर्यकरणको लागि पनि उपलब्धिमूलक काम भइरहेको बताउँदै उनले सडक किनारमा रोपिएका विरुवा र फूलको संरक्षण तथा रेखदेखका लागि दैनिक पाँच जनाले काम गरिरहेको बताए । यस्तै रंगेली भित्रका मुख्य सडक कालोपत्रेको काम पनि अन्तिम चरणमा पुगेको उनको भनाइ छ । हुलकी सडकको रंगेली भाग निर्माण सम्पन्न भईसकेको छ । जसले गर्दा झापालाई जोड्ने छोटो दुरीको मार्ग भएकाले पनि अहिले रंगेलीमा चहलपहल निकै बढेको छ ।

रंगेलीको इतिहास

मोरङको नामकरण १७ औं शताब्दीका लुम्बु राजा माउरोङ रोङ मुङ हङको शासनकालमा भएको इतिहास छ । त्यसबेला मोरङ राज्यको राजधानी किल्ला रंगेलीमा रहेको इलाका प्रहरी कार्यालय रंगेलीको अभिलेखमा उल्लेख छ । वंशीय हिसाबमा इङ वंशपछि शेन वंश र खेवाङ वंशीय र खेवाङ वंशका अन्तिम राजा बुद्ध कर्ण सेवाङलाई पृथ्वीनारायण शाहले युद्धमा पराजित गरी मोरङलाई नेपालमा गाभेको इतिहास छ ।

यसरी क्रमशः मोरडको सदरमुकाम रंगेली भएको बेलामा कोशीदेखि मेचीको भूभागलाई मोरङ भनिन्थ्यो । नेपाल एकीकरणपूर्व मोरङको सदरमुकाम चतरामा थियो, त्यसपछि वि.सं. १९४५ मा रंगेलीलाई मोरङको सदरमुकाम कायम गरिएको इतिहास छ । वि.सं. १९४६ मा प्रधानमन्त्री वीरशमशेरले कालीदास कोइरालालाई प्रथम बडाहाकिम बनाएर रंगेली पठाएपछि यो बजारमा प्रारम्भिक विकास सुरु भएको हो ।

वि.सं. १९७० मा प्रधानमन्त्री चन्द्रशमशेरले भारतको जोगवनी नाका व्यापारका लागि उपयुक्त मार्ग भएको ठहर गर्दै सम्पूर्ण सरकारी कार्यालय रंगेलीबाट गोग्राह (विराटनगर) सारेपछि रंगेली गाविसका रूपमा रहँदै आएको थियो ।

२०७१ मा यो गाविसलाई छिमेकी दर्वेशा, आमगाछी, टकुवा र बबियाबिर्ता गाभेर नगरपालिका नामकरण गरिएको हो । पूर्वमा डाइनिया, पश्चिममा सोराभाग, उत्तर दर्वेशा र दक्षिण भारतीय सीमा जोडिएको रंगेली नगरपालिका १११.७८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट