२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रैथाने धान बचाउन किसानलाई अनुदान दिइने

बिहिवार , आषाढ ५, २०८२

बागलुङ । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ ।

किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी रु एक/एक हजार अनुदान दिइने वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । वडा समितिले रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको हो ।

आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको पौडेलले जानकार दिए । “तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड पनि वडाले राख्छ”, पौडेलले भने, “वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइन्छ ।”

एकै दिन धेरै किसानको धान थन्क्याउने अवस्था आइपरेमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्नेछ । लोपोन्मुख धान भएकोले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनले बताए । पहिलो चरणमा किसानलाई अनुदान दिन वडाले रु ५० हजार विनियोजन गरेको हो ।

यसअघि केही किसानले मात्रै परम्परागत धान उत्पादन गर्दै आएका छन् । हाइब्रिडले रैथानेको बीउ मासिन सक्ने अवस्था आएपछि संरक्षणका लागि पनि यो निर्णयमा वडा समिति पुगेको हो । यो निर्णयलाई नगरपालिकाले पनि गज्जबको भएको बताएको छ । “उत्पादन पनि बढाउने, रैथाने बाली पनि जोगाउने व्यवस्थामा साथ दिनुपर्छ”, नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, “कृषि पेसा गरेको किसान खुसी बन्ने वातावरण बनाउने प्रयासमा छौँ ।” धेरै उत्पादन गरेका किसानको धान नगरपालिकाले पनि बजारीकरणमा साथ दिने उनले बताए।

वडा नं १३ ले १४० घरधुरी रहेको मुसुराबारीको दलित बस्तीमा प्रतिघर न्यूनतम पाँच वटा सुन्तला र कागतीको बिरुवा लगाउनेलाई सहयोग पनि गरेको छ । चालु वर्षको ५० हजार रकमले बिरुवा किनेर किसानलाई दिएको हो । वडाले गत वर्षदेखिनै रसायनिक मल ढुवानीमा प्रतिकेजी रु दुई अनुदान दिँदै आएको छ ।

पशुपन्छीको औषधि निःशुल्क वितरण, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नगर अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था पनि गराएको हो । यसबाहेक गर्भवतीले गर्भजाँच गर्न आउँदा हरेक पटक एक÷एक क्रेट अण्डा समेत दिने व्यवस्था गराएको छ । वडाले पोषणमैत्री कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट