मंगलवार , आषाढ १०, २०८२
Shares
Shares
विराटनगर । विराटनगर महानगरपालिका कोसी प्रदेशको एकमात्र महानगरपालिका हो । मंगलबार आफ्नो नीति तथा कार्यक्रम र त्यसलाई कार्यान्वयन गर्ने विनियोजनको अनुमान गरिएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । महानगरले ४ अर्ब ४० लाखको बजेट सार्वजनिक गरेको छ ।
महानगरको नीति तथा कार्यक्रममै पिच्छे चिल्ला नारा प्रस्तुत गरेको छ । हरेकजस्तो शीर्षगत कार्यक्रममा महानगरले नारा दिएको छ ।
“तपाईको स्वास्थ्य महानगरको चासो” भन्ने मूल नाराका साथ महानगरपालिका भित्र सुर्तीजन्य पदार्थको बीक्री वितरण, भण्डारण तथा सार्वजनिक स्थानमा सेवनलाई कडाइका साथ नियन्त्रण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
“स्मार्ट कक्षा, स्मार्ट विद्यार्थी” कार्यक्रम महानगरको अर्को कार्यक्रम हो । यसमार्फत प्रत्येक कक्षामा एक स्मार्ट बोर्डको नीति लिई चालु आर्थिक वर्षमा सबै माध्यमिक विद्यालयमा न्यूनतम एक स्मार्ट बोर्डको व्यवस्था मिलाई शिक्षण सिकाइलाई आधुनिक र प्रविधिमैत्री बनाइने उल्लेख छ ।
“प्रविधियुक्त सिकाइ, विराटनगरको उचाइँ” भन्ने आदर्श वाक्यका साथ विद्यालय तहबाट नै कृत्रिम बुद्धिमत्ता रोबोटिक्स, पाइथन, कोडिङ जस्ता विज्ञान प्रविधिसँग सम्बन्धित विषय र क्षेत्रसँग परिचित गराइ विद्यार्थीलाई गणित र विज्ञान विषयप्रति रुचि जगाइने कार्यक्रममा उल्लेख छ ।
सबै तह र कक्षाको सिकाइ उपलब्धि विश्लेषण गरी विभिन्न कारणले न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसकेका विद्यार्थीका लागि “बुष्टर कक्षा” सञ्चालन गरी अघिल्लो शैक्षिक सत्रको तुलनामा न्युनतम १० प्रतिशत सिकाइ उपलब्धि वृद्धि गरिने महानगरले नीति लिएको छ । विद्यालयमा जाने अनुदानलाई कार्यसम्पादनमा आधारित अनुदानका रुपमा कार्यान्वयन गरी नतिजामा आधारित लगानीलाई प्रोत्साहन गरिने जनाइएको छ ।
विद्यालय हाताभित्र विद्यार्थीका लागि “सुरक्षित,सम्मानजनक र दण्डरहित शिक्षण सिकाइ” वातावरणका लागि निर्भय विद्या मन्दिरको अवधारणा लागू गर्ने र प्रत्येक शुक्रबारलाई पुस्तकरहित दिनका रुपमा मनाउन सञ्चालन गरिदै आएको “खेल्दै सिक्दै” कार्यक्रमलाई निरन्तरता दिइने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विराटनगरमा सञ्चालित सक्षम विद्यालयले अर्को विद्यालयसँग “मितेरी विद्यालय” को सम्बन्ध कायम गरी शैक्षिक गुणस्तर अभिवृद्दि, व्यवस्थापकीय सहयोगजस्ता विषयमा आपसमा साझेदारी गराइने, “जहाँ खेलकुद, त्यहाँ महानगर” अर्को नारायुक्त कार्यक्रम हो । यसलाई निरन्तरता दिई खेलकुद गतिविधि सञ्चालन गर्ने संस्थाहरुलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
“महिलाको आर्थिक सशक्तीकरण हाम्रो अभियान, महिलामाथि लगानी महानगरको पहिचान” नारालाई साकार गर्न महिलाको आर्थिक र सामाजिक सशक्तीकरणका लागि विभिन्न रोजगारमूलक सीप विकास तालिम र सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाइने महानगरको नीति छ ।
“महानगरको चाहना हिंसारहित नगरको कामना” लाई साकार पार्नलैङ्गिक हिंसामुक्त नगर निर्माणको लागि संघसंस्थाहरुको सहयोग र सहकार्यमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनालगायतका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ ।
“न्याय, समानता, रोजगारी–यही हो महिला सशक्तिकरणको तयारी” भन्ने नाराका साथ स्रोत साधनमाथि महिलाको समान पहुँच नियन्त्रण र निर्णायक प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउने भनिएको छ । “महानगरको पूर्वाधार अपाङ्गता भएको व्यक्तिको भविष्यको आधार” अर्काे नारा हो ।
“सहि व्यक्तिलाई सहि समयमा सहि रकम प्रदान, सामाजिक सुरक्षाको हाम्रो अभियान” भन्ने नारा अनुरुप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गराउने कार्यलाई निरन्तरता उल्लेख छ । “सहकारी शुद्धिकरण हाम्रो अभियान” लक्ष्यका साथसहकारी संस्थालाई व्यवस्थित, नियमसंगत, सुरक्षित र सक्षम बनाइ संस्थागत सुशासन प्रवद्र्धन गरिनेछ ।
“एक घर एक रोजगारी” भन्ने मूल नाराका साथ लक्षित वर्गका लागि विविध क्षेत्रहरुमा निस्शुल्क प्रशिक्षण तथा तयारी कक्षाहरु संचालन गरी रोजगारको वातावरण सिर्जना गर्न “महानगरको लगानी तपाइँको आम्दानी” भन्ने नीतिलाई साकार पार्न अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको अभिलेख राखी व्यवसाय सञ्चालनमा सहयोग गरिनेछ नीति तथा कार्यक्रममा छ ।
“कर करले हैन रहरले तिरौ” भन्ने नाराका साथ करदाता शिक्षा अभियानसञ्चालन गरी आन्तरिक आय वृद्धि गर्ने, “खुसीले तिरौ कर, बनाऔं समृद्ध महानगर” भन्ने नारालाई पूरा गर्न कर प्रशासनलाई करदातामैत्री बनाउन प्रविधिको प्रयोगमा जोड दिइने पनि कार्यक्रममा उल्लेख छ ।
“हिंसारहित समाजको निर्माणमा सधै महानगर” लैङिक हिंसा पिडित ,असहाय, अपांगता भएका व्यक्तिहरु, विपन्न,ज्येष्ठ नागरिक र बालबालिकालाइ निःशुल्क कानुनी सेवा प्रदान गर्ने, पारिवारिक मजबुती आर्थिक सम्वृद्धि लैंगिक हिंसा पिडित व्यक्तिहरुलाइ स्वरोजगारका लागि बीऊ पुँजीलाई वृद्धि गरी थप प्रभावकारी बनाई आत्मानिर्भर हुन प्रेरित गर्ने महानगरको नीति कार्यक्रममा जनाइएको छ ।
महानगरको अरु नारा “न्याय महानगरको ध्येय, महानगरभित्रका हरेक घरधुरीमा कानुनी सचेतना”, “सुरक्षित मैले काम गर्ने ठाउँ,रोजगारदाता र मेरो उच्च नाउँ”, सबै श्रमिक तथा रोजगारदाताहरुलाई श्रम कानूनसम्बन्धी सुसुचित गराइ आफ्नो हक तथा अधिकारको सुनिश्चतता गर्ने, “सक्षम युवा जनशक्ति,मनमुटुमा देशभक्ति” विद्यालयका बालबालिकालाई लागूऔषध दुव्र्यसन तथा कूलतबाट हुने असरलाई न्यूनिकरण गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिने, “महानगरको आँखा, सबैसँग पुग्ने आशा” न्यायिक समितिबाट भएका मेलमिलाप, निर्णय, आदेश तथा फैसलाहरुको शतप्रतिशत कार्यान्वयनमा जोड दिइ नियमित अनुगमन गरिनेछ साथै श्रव्य दृश्य सामग्री तयार गरी दस्तावेजीकरण गर्ने जनाइएको छ ।
आकर्षक नारा दिएको महानगरले “प्रविधिमैत्री महानगर, सुशासनको मुल आधार” भन्ने नारा पनि कार्यक्रममा देख्न सकिन्छ । “हाम्रो नगर हरित शहर” भन्ने नाराका साथहरियाली तथा वातावरणप्रवद्र्धनका लागि वृक्षारोपण साथै बोट विरुवाको संरक्षण गर्ने महानगरले नीति अघि बढाउने घोषणा गरिएको छ ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस