काठमाडौं । नेपाल प्रहरीले गएको जेठ महिनामा मात्र ७६ करोड ३० लाख ९८ हजार ५४१ रुपैयाँ राजस्व संकलन गरेको छ। सरकारको राजस्वमा रकम दाखिला गरेपछि प्रहरीले बिहीबार तथ्यांक सार्वजनिक गरेको हो।
सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा धेरै अवैध मालसामान बरामदबाट २४ करोड ८५ लाख ७५ हजार ५६५ रुपैयाँ राज्यकोषमा जम्मा भएको देखिएको छ। प्रहरीले बरामद गरेका अवैध मालवस्तुको परिमाण उल्लेख्य देखिँदा भारतीय नाका जोडिएका क्षेत्रबाट तस्करी नघटेको खुलेको छ।
प्रहरीले एक महिनामा अवैध सुनचाँदी मात्रै १६ करोड ५५ लाख रुपैयाँको बरामद गरेको छ भने अदालती फैसला कार्यान्वयनबाट २० करोड ६२ लाख ५९ हजार ३७२ रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, स्रोत नखुलेको १ करोड १३ लाख ३० हजार ७३२ रुपैयाँ बरामद गरेको छ । सो अवधिमा अवैध मुद्रा ८८ लाख ९४ हजार ७२२ रुपैयाँ नियन्त्रणमा लिएको छ भने हुन्डी कारोबारी नियन्त्रणमा लिएर १ करोड २५ लाख १५ हजार ९२० रुपैयाँ जफत गरेको तथ्यांकमा उल्लेख छ।
ट्राफिक कारबाहीबाट पनि ९ करोड ४१ लाख ३० हजार ७०६ रुपैयाँ राज्यकोषमा जम्मा भएको तथ्यांकमा देखिएको छ। अवैध पशुपक्षी ८० लाख ९६ हजार ४९०, काठ २७ लाख ४१ हजार ७२४ रुपैयाँको बरामद गरेको छ। नदिजन्य पदार्थको अवैध उत्खनन गर्नेबाट ५० लाख ८३ हजार ७२६ रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस