मोरङ । यतिबेला मोरङ बेलबारीका २७ वर्षीय युवक कैलाश तामाङ जीवन र मृत्युको दोसाधमा छन् । स्वास्थ्यमा समस्या आएपछि कैलाश तामाङ मोरङको बेलबारीमा सामान्य जाँचको लागि गए । क्रमिक रुपमा स्वास्थमा समस्या बढ्दै गएपछि उनले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराए । उनको मृगौलामा समस्या देखियो । मृगौला खराब भइसकेको जानकारी उनले केही दिनपछि डाक्टरहरुबाट पाए र मृगौला नै फेर्नु पर्ने अवस्थामा उनी पुगे । मोरङ जिल्लामा मृगौला प्रत्यारोपण हुने अवस्था नभएकाले उनी काठमाडौं आए।
काठमाडौं आएपछि जटिलता अगाडि आउँदै गयो । विगत एक महिनादेखि उनी काठमाडौंमा छन् । उनलाई नोबेल अस्पतालमा निशुल्क उपचार नेपाली कांग्रेसबाट मोरङमा सांसद् निर्वाचत डा. सुनीलकुमार शर्माले गराए। शर्माले तामाङको जीवन रक्षामा उल्लेखनीय भूमिका खेलेर मोरङबाट काठमाडौंसम्म ल्याउने, बस्ने तथा खानाको समेत व्यवस्था गरेर मेडिकल कलेजमा निःशुल्क उपचार तथा मिर्गौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) गरिदिने पूर्ण जिम्मा लिए । समस्याको समाधान गर्न शर्माले पहल गरेपनि कागजातहरुको समस्याका कारण आजसम्म उनको मृगौला फेर्ने बाटो भने खुलेको छैन । र, हाल उनी काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसी) मा डायालसिस गरिरहेका छन् ।

के हो कागजातको समस्या ?
कैलाशलाई जन्मदिन आमा हुन् गीता मगर। कैलाश जन्मिएको केही महिनामै उनले अरुसँग नै विवाह गरेर उदयपुर गइन्। कैलाशका बाबु रवीन्द्र तामाङले त्यसपछि अर्कै विवाह गरे र उनको सौतेनी आमा हरिमाया तामाङकै नामबाट कैलाशको जन्मदर्तादेखि नागरिकता लगायत सबै कागजात बनाइदिए। कैलाशकी जैविक आमा उनको वास्तविक आमा हुन् भनेर खुलाउने उनीसँग कुनै कागज छैन। अहिले मृगौला फेल भएको समयमा उनलाई केवल जैविक आमाको मृगौलामात्र मेल खाएको छ ।
विगत केही वर्ष देखि उनकी आमा उनीसँगै बस्न थालेकी छन्। तर, नेपालको कानुनले नाता प्रमाण नभएसम्म मृगौला दिन नमिल्ने उल्लेख गरेको छ। उनकी आमा उनलाई मृगौला दिन तयार छिन् तर, आफूले जन्म दिएको छोरालाई मृगौला दिने आधार उनीसँग छैन र कैलाश पनि त्यसमा निरीह भएका छन्।
यो सबैको बाबजुद मोरङ जिल्ला प्रशासन कार्यलयले स्थानीयसँग सरजमिन गरी मुचुल्का उठाएर कतै उल्लेख नभएपनि जैविक आमाका रुपमा उनलाई मान्यता दिई चिठी लेख्यो। कैलाशको स्थानीय बेलबारी नगरपालिकाले पनि उनकी आमासँग उनको नाता प्रमाणित गरिदियो। ती चिठीको आधारमा काठमाडौंको जिल्ला प्रशासनबाट प्रत्यारोपणको लागि बनाइएको समितिमा तोकिएका अधिकारीले सही गरे भने केएमसीमा उनको मृगौला प्रत्यारोपण अघि बढ्छ र उनको जीवन बँच्ने छ। तर, काठमाडौं जिल्ला प्रशासन यसलाई मान्यता दिने पक्षमा छैन।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी अशोककुमार भण्डारी भन्छन्, ‘मृगौला प्रत्यारोपण गर्नको निम्ति कानुन बमोजिम समिति हुन्छ र त्यस समितिमा ५ जनाको मन्जुरी हस्ताक्षर गरेपछि बल्ल काम अघि बढ्छ । मृगौला लिने र दिने, उपचारको लागि शल्यक्रिया गर्ने शल्यचिकित्सक, अस्पतालको निर्देशक र अन्त्यमा अस्पताल अवस्थित भएको जिल्लाको जिल्ला कार्यलयका एक प्रतिनिधि।’
यस अवस्थामा कैलाश तामाङको केसमा भने अन्य चार हस्ताक्षर भएको र जिल्लाको प्रतिनिधिबाट मात्र हस्ताक्षर भएको छैन। उनी कारण खुलाउँछन्-‘कैलाशको आमासँग वास्तवमा नाता प्रमाण हुने केही पनि कुरा हालसम्म नखुलेको कुरा हामीलाई हाम्रो प्रतिनिधिले भन्नुु भएको छ । त्यसैले त्यस जटिलताका कारण मोरङको पत्रको आधारमा आफ्नो काम र पद नै धरापमा पार्ने स्थिति बनेमा भोलि अप्ठयारो हुने भएकाले यस्तो परिस्थिति सिर्जना भएको हो ।’

मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ अनुसार नेपालमा नजिकको नातेदारबाट मात्र मिर्गौला दान लिन पाइन्छ। कानुनमा उल्लेख भएअनुसार ‘नजिकको नातेदार’ भन्नाले अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदीबहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासु, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजु, बुहारी, मामा, माइजु, भान्जा, भान्जी, साला, साली, फूपु, फूपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाँई, जेठान सम्झनुपर्छ। धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र धर्मपुत्री राख्ने बाबुआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि अटुट रुपमा नाता सम्बन्ध कायम रहिआएको हुनुपर्ने पनि ऐनमा उल्लेख छ।
कैलाशको लागि उनकी आफ्नै आमा गीता उनलाई मिर्गौला दिन तयार छिन् तर आफ्नै आमालाई आमा प्रमाणित गर्न अधिकारीहरू तयार नदेखिँदा कैलाश अप्ठ्यारोमा छन् ।
नेपालमा वार्षिक ३ हजार जनाको मृगौला फेल हुने गरेको र त्यसमा १ हजार ५ सयको प्रत्यारोपण हुने गरेको तथ्यांक छ। कानुनी अल्झनका कारण धेरैले दाता फेला पार्न सक्दैनन्। कैलाशको यो घटनाले प्रष्ट हुन्छ कि एउटा युवा कानुनी उल्झनका कारण मृत्युसँग जुधिरहन बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस