२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय: विद्यार्थीले बनाए ‘राधा’ रोबोट

शुक्रवार , आषाढ ५, २०८३

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन् । 

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रममार्फत नगरभित्रका २३ विद्यालयमा विभिन्न नवप्रवर्तनात्मक तथा उत्पादनमुखी परियोजना सञ्चालन गरिएका छन् । कार्यक्रमले विद्यालय शिक्षालाई कक्षाकोठाबाट उत्पादन, अनुसन्धान र प्रयोगसँग जोड्ने प्रयास गरेको कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताए । 

कावासोती नगरपालिका–१७ मा रहेको त्रिभुवन बाल माध्यामिक विद्यालयमा शिक्षक र विद्यार्थी मिलेर ‘राधा’ नामको रोबट निर्माण गरेका छन् । विद्यालयमा पुग्ने जोकसैलाई उक्त रोबटले नमस्कारसहित स्वागत गर्ने गरेको छ । विज्ञान शिक्षक सुजन पोख्रेलका अनुसार परियोजनाले विद्यार्थीलाई रोबोटिक्स र कोडिङको आधारभूत ज्ञान दिनुका साथै प्रविधि क्षेत्रमा भविष्य निर्माण गर्न प्रेरणा प्रदान गरेको छ । कक्षा ९ मा अध्ययनरत समृद्धि पोख्रेलले रोबोट निर्माण र सञ्चालनमा सहभागी हुन पाउँदा नयाँ अनुभव प्राप्त भएको बताए । 

कावासोती–१३ स्थित पिठौली आधारभूत विद्यालयले नवीकरणीय ऊर्जामा आधारित बेसार प्रशोधन इकाई स्थापना गरेको छ भने गोसाइँबाबा आधारभूत विद्यालयले अम्बा र बेसारखेती तथा प्रशोधन कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विद्यालयको भान्साबाट निस्कने जैविक फोहर प्रयोग गरी बायोग्यास उत्पादन सुरु गरेको छ ।

पालिकाभित्रका विद्यालयमा यस्तै नवीनतम् कार्यहरू अहिले सञ्चालन भइरहेको शाखा अधिकृत  पाण्डेले बताउनुभयो । परियोजनाअन्तर्गत विद्यालयहरूले रोबोटिक्स, बायोग्यास उत्पादन, सोलार ड्रायर निर्माण, फलफूल तथा तरकारी उत्पादन, जैविक मल निर्माण, नर्सरी स्थापना, स्मार्ट सिँचाइ प्रणाली, गड्यौला मल उत्पादन, बेसारखेती तथा प्रशोधन, इकोपोखरी निर्माणलगायत कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
 
नगरपालिकाका शिक्षा शाखा अधिकृत पाण्डेका अनुसार कार्यक्रमले विद्यार्थीमा समस्या समाधान, अनुसन्धान, नेतृत्व तथा उद्यमशीलताजस्ता जीवनोपयोगी सीप विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । “अब विद्यार्थीले किताब पढ्नेमात्र होइन, जीवनोपयोगी सीपसमेत सिकुन् र भोलिका दिनमा आफूलाई सक्षम बनाएर उभिन सकुन् भनेर शिक्षासँगै विभिन्न सीपलाई जोड्दै गएका हौँ, हाम्रो अपेक्षा यसले विद्यार्थीमा नवीनतम् कार्य गर्ने सोचको विकास गर्न सहयोग पुग्छ भन्ने छ”, शाखा अधिकृत पाण्डेले भने ।
 
परियोजनाको मूल्याङ्कनपछि उत्कृष्ट तीन विद्यालयलाई प्रतिविद्यालय रु एक लाख र उत्कृष्ट १० शिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेसमेत शाखा अधिकृत पाण्डेले बताए । सीमित बजेट, प्राविधिक सहयोग र समय व्यवस्थापन चुनौतीका रूपमा रहे पनि कार्यक्रमले विद्यालयलाई केवल पढाइ हुने थलोबाट सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्रका रूपमा रूपान्तरण गर्ने प्रयास थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट