भोजपुर । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । प्रहरीका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र मनिषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको छ। ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासु मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी भनाइ छ।
आरोपित राई करिब एक हप्ताअघिबाट ससुरालीमा बस्दै आएको रामप्रसादराई–२ का वडासदस्य जीवन जर्गा मगरले जानकारी दिए । घरायसी विवादका कारण घटना भएको हुनसक्ने उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेका थिए ।
त्यसपछि तत्काल अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली परिचालित भएको थियो ।
घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा प्रहरी पुग्दा राजेन्द्र राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो ।
राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्दछ ।
राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट छ । उनी जिल्ला अस्पतालमा उपचाररत छन् । उनले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । ‘उनी बिस्तारै–बिस्तारै बोल्न सक्छन्, आफूले हत्या गरेको भनेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।
उनका अनुसार आपसी विवादमा सासुले चक्कु प्रहार गरेपछि आक्रोशित भएका ज्वाइँ राजेन्द्रले एकै परिवारका चार जनाको हत्या गरेको स्विकारेका छन् । ज्वाइँ राजेन्द्र राई पनि गम्भिर घाइते भएका छन् । उनको भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मृतक १६ वर्षीया मनिषा र राजेन्द्रले भागेर विवाह गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको भोजपुर प्रहरीले जनाएको छ । घटना स्थल ईलाका प्रहरी कार्यालय रहेको घोडेटारदेखी करिब ४० किलोमिटर टाढा पर्छ ।
प्रतिक्रिया दिनुहोस