काठमाडौं । बलिउड अभिनेता सलमान खानले छिटै फिल्म ‘गलवान’ को सुटिङ सुरु गर्दैछन्।
यो फिल्ममा उनी एक भारतीय सैनिकको भूमिकामा देखिँदैछन्, जसले भारत–चीनबीचको चर्चित गलवान उपत्यकाको खतरनाक युद्धमा भाग लिएको थियो।
५९ वर्षीय सलमान यस भूमिकालाई यथार्थपरक बनाउनका लागि अहिले आफ्नो फिटनेसमा विशेष ध्यान दिइरहेका छन्। ‘इण्डिया टुडे’को रिपोर्ट अनुसार, सलमानले शारीरिक तन्दुरुस्तीका लागि नियमित कडा प्रशिक्षण गरिरहेका छन् । उनीसँग एक पर्सनल ट्रेनर पनि छन्, जसले प्रशिक्षणमा साथ दिइरहेका छन्।
फिल्मको पहिलो चरणको छायाङ्कन लेहको कठिन भूभागमा गरिनेछ। आगामी केही हप्ताभित्र त्यहाँ सुटिङ सुरु हुने बताइएको छ। उचाइ र चिसो वातावरणका कारण यो सुटिङ शारीरिक र मानसिक रूपमा कठीन हुने निश्चित छ, जसले गर्दा सलमानमाथि थप दबाव परेको छ।
यो भूमिकाका लागि सलमानले आफ्नो जीवनशैलीमै ठूलो परिवर्तन ल्याएका छन्। उनले हालसालै रक्सी (शराब) पिउन छोडेका छन्, साथै खानामा कार्बोहाइड्रेट्सको मात्रा घटाएका छन्। स्रोतहरूका अनुसार, सलमान ‘सिकन्दर’ फिल्मपछि नै आफ्नो स्वास्थ्यप्रति निकै सजग भएका छन् । उनी हाल दैनिक अभ्यास, डाइट र विश्राममा नियमपूर्वक लागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस