काठमाडौं । प्रतिनिधिसभा सदस्य सोम शर्माले सुरक्षा निकायका कर्मचारीहरूले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन्। विगतका आन्दोलनका क्रममा आफूहरूले भोगेका अनुभव स्मरण गर्दै उनले राज्यले नागरिकप्रति अनावश्यक कठोरता देखाउन नहुने बताए।
उनले माइतीघर आन्दोलनका दिनहरू सम्झिँदै आफूहरू लौरो बोकेर आन्दोलनमा सहभागी भएको, प्रहरीको बन्दुकको नाल, लाठी र बुटसमेत खेप्नुपरेको उल्लेख गरे। "हामी निर्दोष नागरिकका रूपमा बसेका थियौँ। अहिले त्यति अचाक्ली अवस्था छैन, तर कहीँ कतै त्यस्तो भएको छ भने त्यसलाई सच्याउनुपर्छ," उनले भने।
सांसद शर्माले मन्त्री, सांसद वा प्रधानमन्त्रीको ठाडो आदेशमा फिल्डमा खटिएका कर्मचारीहरूले काम गर्ने नभई उनीहरूले आफ्नो विवेक र व्यवहारका आधारमा नागरिकसँगको सम्बन्ध निर्धारण गर्ने बताए। "यसरी लेख्नुस्, यसो भन्नुस् भन्ने कुरा हुँदैन। फिल्डमा खटिएका प्रत्येक कर्मचारीले आफ्नो स्वविवेक प्रयोग गरेर काम गर्छन्," उनले स्पष्ट पारे।
आफ्नो निर्वाचन क्षेत्रमा जाँदा पनि आफूले सरकारी कर्मचारीहरूलाई नागरिकसँग सम्मानजनक व्यवहार गर्न आग्रह गर्ने गरेको उल्लेख गर्दै उनले कर्मचारीहरूको व्यवहारले नै राज्यप्रति नागरिकको धारणा निर्माण हुने बताए। नागरिक र राज्यबीचको दूरी घटाउने जिम्मेवारी कर्मचारीहरूको व्यवहारसँग प्रत्यक्ष रूपमा जोडिएको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस