२९ असार, काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५–० को हार बेहोरेको थियो ।
प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया दिनुहोस