काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज दोस्रो पटक श्रीलंकासँग खेल्दै छ ।
डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो ।
मंगलबार भएको खेलमा नेपाल ७–० ले विजयी भएको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।
यसअघि बसुन्धरा किङ्स एरेनामा हुँदै आएपनि अबका चार खेलहरू बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने भएका छन्। मंगलबार भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो ।
नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो । प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने ३ खेलमा ६ अंक जोडेको नेपाल दोस्रो र ३ अंक भएको भुटान तेस्रो स्थानमा छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया दिनुहोस