काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ । यसअघि बैठक ११ बजे बस्ने भनिएको बैठक दुई घन्टा ढिला गरी १ बजेबाट सुरू हुने तय भएको हो ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । बिहीबार बसेको पार्टी सचिवालय बैठकमा पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रूप दिइएको थियो । पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेरहद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय गरिएको थियो ।
विधान महाधिवेशनको हकमा यस अघिका प्रतिनिधि मात्र सहभागी हुन पाउने विधानको व्यवस्थालाई यथावत राखिएको छ। नयाँ थपिएका केन्द्रीय सदस्यहरू आयोजकको हैसियतमा मात्र विधान महाधिवेशनमा सहभागी हुनेछन्। यी निर्णयहरू शुक्रबारको पोलिटब्युरो बैठकले अनुमोदन गरी थप निर्णय गर्नेछ।
सचिवालय र पोलिटब्युरो बैठकले गरेको निर्णय साउन ५ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुनेछ। बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ । आउँदो भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनबाट उक्त प्रस्ताव पारित गरिएपछि उमेरहद र कार्यकालसम्बन्धी नयाँ प्रावधान कार्यान्वयनमा ल्याइनेछ ।
प्रतिक्रिया दिनुहोस