२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

विद्याले भनिन् : ‘ओलीसँग राष्ट्रिय राजनीतिबारे छलफल भयो, अरू आधिकारिक च्यानलबाट थाहा पाउनु हुनेछ’

आइतवार , श्रावण ४, २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय राजनीतिबारे छलफल भएको बताएकी छन् ।

ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा आज उनीहरुबीच ‘वान टू वान’ भेटवार्ता भएको हो ।

भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिइन् । “उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो”, उनले सञ्चारकर्मीलाई भनिन्, “अरू विषय आधिकारिक च्यानलबाट थाहा पाउनुहुनेछ ।”

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिइन् । उनीहरूबीच करिब २ घण्टा कुराकानी भएको हो । पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलोपटक एमाले मुख्यालय च्यासल पुगेकी हुन् ।

उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले स्वागत गरेका थिए ।

उनले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसकेकी छन् । यस विषयले एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो ।

एमालेको शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा अधिकांश पोलिटब्यूरो सदस्यले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा रहिसकेका व्यक्तिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट