काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा मंगलबार (साउन ६) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विभिन्न विषयमा प्रधानमन्त्री केपी शर्मा ओली विशेष संवेदनशील हुन आवश्यक रहेको पनि बताए ।
कुनै पनि क्षेत्रमा प्रोफेसनल मान्छे आऊन् भन्ने कांग्रेसको चाहना भएको भन्दै त्यसप्रति प्रधानमन्त्री विशेष संवेदनशील हुनु आवश्यक रहेको उनको भनाइ छ । “कांग्रेसको दृष्टिकोण छ, हाम्रा भनाइ छन्, नियुक्तिका कुराहरू छन्,” उनले भने, “हामी प्रोफेसनल मान्छे आऊन् भन्छौँ । पार्टी र व्यक्तिप्रति लोयल मान्छे हामीले खोजिरहेका छैनौँ । त्यसप्रति पनि प्रधानमन्त्रीको विशेष संवेदनशीलता आवश्यक छ । यसलाई गम्भीरताका साथ लिन आवश्यक छ ।”
कुलिङ पिरियड लागु हुनैपर्नेमा जोड दिँदै भूमि विधेयकलगायत महत्त्वपूर्ण विषयमा एकलौटी निर्णय लाद्ने कार्य स्वीकार्य हुन नसक्ने पनि प्रवक्ता महतले बताए ।
प्रतिक्रिया दिनुहोस