काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले फास्टट्रयाकबाट भूमि विधेयक पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको बताएका छन् ।
कोइरालाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा बहालै रहेको अवस्थामा भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद रहेको उल्लेख गरेका हुन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्टट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न ।’
उनले नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको उल्लेख गर्दै पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनले भूमि विधेयकमा सम्बन्धित समितिमा गहन छलफल आवश्यक रहेको बताएका छन् ।
उनले लेखेका छन्– ‘नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन। पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।’

प्रतिक्रिया दिनुहोस