२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मोरङको रमिते डाँडा : नयाँ पर्यटकीय गन्तव्य (फोटो फिचर)

आइतवार , श्रावण ११, २०८२

विराटनगर । मोरङ जिल्लाको उत्तरी भेगमा अवस्थित मिक्लाजुङको रमिते डाँडा अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी तराईको तातो मौसमबाट केही समयका लागि राहत खोज्नेहरुका लागि रमिते डाँडा उत्तम गन्तव्य बन्न थालेको हो ।

धनकुटाको भेडेटार जत्तिकै चिसो र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमिते डाँडामा जानको लागि पक्की सडक निर्माण भएपछि त्यहाँको पर्यटकीय गतिविधि अझै तीव्र भएको छ । स्थानीय व्यवसायीका अनुसार शुक्रबार र शनिबारका दिन नयाँ खुलेका होटल र रेस्टुरेन्टमा घुम्न आउने मानिसको चहलपहल बढिरहेको छ । गर्मीबाट उम्किन र चिसो हावाको स्पर्श लिन चाहने पर्यटकका लागि रमिते चर्चित बन्दै गएको छ ।

स्थानीय पर्यटन व्यवसायी भविष श्रेष्ठका अनुसार प्रचार–प्रसारको कमीले पहिले ओझेलमा परेको रमिते डाँडाले कोसी प्रदेश सरकारको पहलमा बनेको कालोपत्रे सडकपछि पर्यटक तान्न थालेको हो । रमिते डाँडाबाट तराईका हरियाली फाँट, चारकोसे जंगल, दमकको दमक टावर र बिर्तामोड बजारसम्म स्पष्ट देख्न सकिन्छ, जसले पर्यटकलाई झनैै लोभ्याउँछ ।

श्रेष्ठ भन्छन्, ‘‘यदि रमितेमा नाइट स्टेका लागि अझ व्यवस्थित र सुविधा सम्पन्न होटल खोल्न सकियो भने पर्यटकको संख्या झन् बढ्ने छ ।’’ मिक्लाजुङ गाउँपालिका–४ मा अवस्थित रमिते डाँडामा हाल टिकटक भिडियो बनाउने, वनभोज खान जाने र परिवारसँग रमाउन चाहनेहरुको भिड बाक्लिँदै गएको छ ।

रमिते डाँडा अहिले मोरङका लागि मात्र होइन, कोसी प्रदेशकै नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको देखिन्छ । त्यहाँ सधैं चल्ने शीतल हावा र कुहिरोले मौसम सदैव चिसो र आनन्दमय बनाइ राख्छ ।

कसरी पुग्ने ?

मंगलबारे बजारको किसान चौकबाट उत्तर लाग्दा करिब डेढ घण्टामा रमिते डाँडा पुगिन्छ । मदन भण्डारी राजमार्ग हुँदै लेटाङ–जाँतेबाट केही पूर्व तर्फ गई एक घण्टा जति उक्लिँदा रमिते डाँडा सजिलै पुग्न सकिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ