काठमाडौं । पटकपटक गुण्डागर्दीमा संलग्न रहँदै आएका 'सानुभाइ' भनिने युवराज गुरुङलाई प्रहरीले बुधबार राति ठमेलबाट पक्राउ गरेको छ । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दले ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेकाले गुरुङलाई पक्राउ गरिएको बताए । गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए ।
अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा-१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । पीडित प्रहरीको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।
२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन हतकडीसहित बजार घुमाएको प्रहरी अधिकारीहरुले बताएका थिए ।
पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो । लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।
सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समूहका सदस्य हुन् । ३ भदौ २०७२ मा प्रहरी मुठभेडमा घैंटे मारिएपछि सानुभाइ ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए । उनी माथि विभिन्न मुद्दा छन् ।
प्रतिक्रिया दिनुहोस