काठमाडौं । प्रहरीले विहीबार मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिलन गुरुङ (चक्रे मिलन) सहित ४७ जना भन्दा बढी छन् ।
पक्राउ गर्नका लागि प्रहरीले बिहीबार रातभर ठमेल र महाराजगञ्ज क्षेत्रमा अप्रेसन चलाएको थियो । चक्रे मिलनको ‘बर्थडे पाटी’मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए ।
सो अप्रेसनबाट ठूलो संख्यामा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु पक्राउ परेका हुन्।
चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस