२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

मधेसमा हल्कादेखि मध्यम वर्षा, किसान आशावादी

आइतवार , श्रावण १८, २०८२

सिरहा । लामो समय पानी नपर्दा चिन्तित किसान गएरातिको वर्षाले राहत महसुस गरेका छन् । पानी नपर्दा झण्डै ५० प्रतिशत धान रोपाइँ बाँकी रहेको अवस्थामा पानी परेपछि राहत मिलेको हो ।

यहाँका किसानका अनुसार पानीको अभावमा खेत सुकेका थिए, बीउ पहेँलिएको थियो र धान रोप्ने अवस्था थिएन । तर, गएराति परेको पानीले केही आशा पलाएको छ । लहान– १८ का किसान वीरेन्द्र चौधरीले भने, “पहेँलिएका बीउ रोप्न पाउने आशा पलाएको छ, यद्यपि अझै पर्याप्त पानीको अभाव छ ।”

लहान नगरपालिकाका कृषि संयोजक बद्रीनारायण यादवका अनुसार राति परेको पानी पनि पर्याप्त छैन । “अझ एक दिन निरन्तर पानी परेको भए रोपाइँ सहज हुने थियो,” उनले भने, “तर आजको मौसम हेर्दा त्यस्तो सम्भावना देखिँदैन ।”

सिहकाको दक्षिणी भू–भागमा भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि उत्तरी भेगका अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । कृषि ज्ञानकेन्द्र सिरहाको अनुसार गत शुक्रबारसम्मको रेकर्ड अनुसार जिल्लामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

मधेसमा मनसुन सक्रिय, तर पर्याप्त वर्षा छैन

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरिरहेको छ । यही कारणले केही स्थानमा हल्कादेखि मध्यम वर्षामापन गरिएको छ । तर, यो प्रणाली लामो समय भारततर्फ सक्रिय रहेको हुँदा मधेसमा सुख्खा रहेको विभागले जनाएको छ ।

विभागको विगत २४ घण्टामा मधेसका विभिन्न स्थानमा हल्कादेखि मध्यम मात्राको वर्षा मापन गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सिरहामा ९९.४ मिलिमिटर, सप्तरीको बरमझियामा ९१.८ मिलिमिटर, लहानमा ७७.२ मिलिमिटर, धनुषाको हर्दिनाथमा ४७ मिलिमिटर, चिसापानीमा ६८.२ मिलिमिटर, सिरहाको गोलबजारमा ५२.२ मिलिमिटर, महोत्तरीको गौशालामा ५७.६ मिलिमिटर, धनुषाको तुलसीमा ४७.६ मिलिमिटर तथा सर्लाहीमा ४८ मिलिमिटर वर्षा भएको छ । बारा, पर्सा र रौतहटमा भने केवल हल्का वर्षा मात्र मापन गरिएको छ ।

सिरहा लगायतका तराई जिल्लामा बाँकी खेतमा रोपाइँ सम्पन्न गर्न अझै केही दिन निरन्तर पानी पर्ने आवश्यकता देखिएको छ । किसान, कृषि कार्यालय र मौसम विभाग सबैको नजर अब आसन्न दिनको मौसममा टिकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट