काठमाडाै । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जा प्रवाहका लागि सिफारिस भएका प्रस्तावकको नाम सार्वजनिक गर्दै तीन दिन भित्र तोकिएको बैंक शाखामा सम्पर्क गर्न सूचित गरेको छ ।
प्रतिष्ठानका अनुसार कार्यक्रम वार्षिक सालबसाली भएकाले असार मसान्तपश्चात परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः निष्क्रिय हुने भन्दै कर्जा प्राप्तिका लागि आह्वान गरेको हो ।
छनोट भएका प्रस्तावकले तोकिएको बैंक शाखा कार्यालयबाट कर्जा प्राप्त गर्न आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्ने समेत सूचनामा उल्लेख छ । व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान/भ्याट दर्ताको प्रमाणपत्र, उद्यमीको नागरिकता सक्कल प्रमाणपत्र, आव २०८१/८२ को करचुक्ताको प्रमाणपत्र र आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटोसहित सम्पर्क गर्नुपर्नेछ । यसअघि सहुलीयतपूर्ण कर्जा लिएका र कर्जा चुक्ता नगरेकाहरूले भने पुनः कर्जा नपाउने सूचनामा उल्लेख छ ।
प्रतिष्ठानले यसअघि कर्जा प्राप्त गर्न योग्य १२ सय ९८ परियोजनाको प्रारम्भिक सूची निकालेको थियो । सो सूचीबाट थप विवरण, फोटो, भिडियो समेत लिई प्रस्तुतीकरण गरिएको थियो । प्रस्तुतीकरणमा कुल ११ सय ५६ परियोजनाका प्रस्तावकले भाग लिएका थिए । त्यसपछि प्रतिष्ठानले अन्तिम छनोट गरेको हो ।
प्रतिष्ठानले छनोट गरेका प्रस्तावहरूमा कृषि र पशुपन्छीसँग सम्बन्धित गतिविधि धेरै छन् । चालु आवमा सरकारले ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिष्ठानका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ मा स्टार्टअप कर्जाका लागि कुल पाँच हजार १५८ परियोजनाको प्रस्ताव परेको थियो । तीमध्ये एक हजार २९८ परियोजनालाई प्रारम्भिक सूचीमा समावेश गरिएको थियो । प्रारम्भिक छनोटमा परेका प्रस्तावकहरूलाई विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा प्रस्तुतीकरणका लागि बोलाइएको थियो । सो क्रममा एक हजार १५६ वटा परियोजना प्रस्तावकले प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरणमा सहभागी भएका परियोजनाहरूको मूल्यांकन गर्न प्रतिष्ठानले बहुआयामिक मापदण्ड अपनाएको छ । परियोजनाको फोटो, भिडियो, वित्तीय विवरण, प्रस्तुतीकरण र प्रश्नोत्तरलाई आधार मानी मूल्यांकन समितिले मूल्यांकन गरेको थियो । त्यसपछि मूल्यांकन समितिको औसत अंकभार र बैंकको क्रेडिट अप्राइजल गरी प्राप्त भएको अंकभार जोडी कुल अंकभार निकालिएको थियो । कुल अंकभारको आधारमा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गर्ने प्रस्तावकको प्राथमिकताका आधारमा अन्तिम छनोट गरिएको छ।
प्रतिक्रिया दिनुहोस