२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

नारायणघाट-बुटवल सडक आयोजना : चौथो पटक थपियो म्याद

आइतवार , श्रावण १८, २०८२

नवलपुर । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो ।

नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक म्याद थपिएको बताए । “चौथोपटक थप भएको म्याद अन्तिम हो”, उनले भने, “निर्माण कम्पनीले यस अवधिमा सडक निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएकाले म्याद थप गरिएको हो ।” हालसम्म पूर्वीखण्डमा दाउन्ने बाहेकका सबै ठाउँमा कालोपत्रको काम सकिएको जानकारी दिँदै उनले बाँकी काम पनि एकवर्षभित्र सकिने बताए ।

“पछिल्लो समय निर्माण कम्पनीले सडक विस्तारमा तीव्रता दिएको छ”, उनले भने, “अहिले जनशक्ति दाउन्ने सडकको ढलान गर्न र बाँकी रहेका दुई वटा पुल निर्माण गर्न केन्द्रित भएका छन् ।” थप गरिएको समयमा पूर्वी खण्डको करिब ६५ किलोमिटर चार लेन सडक, सडकको बीचमा रहने डिभाइडर, साढे १७ किलोमिटर सर्भिस लेनको काम सकिने खनालको भनाइ छ ।

सडक विस्तारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले भने थप भएको समयभित्र सबै काम सकाउन कठिन भएको जनाएको छ । कर्पोरेसनका ठेक्का सह व्यवस्थापक राकेश झाले आफूहरुले काम पूरा गर्न १८ महिना लाग्ने भन्दै सोहीअनुसार म्याद थप मागेको भए पनि सरकारले एक वर्षमात्रै म्याद थप गरेको बताए ।

“थपिएको समयमा सडकको काम पूरै सकाउन कठिन छ”, उनले भने, “हामीले तोकिएकै समयमा काम सक्ने प्रयास गर्छौँ तर, योजनाअनुसार काम गर्दा फुटपाथ निर्माण र सडक सुन्दर बनाउने काम बाँकी हुनसक्छ ।”

अहिले सडकको दाउन्ने खण्डमा ढलानको काम भइरहेको उनले बताए। “पूर्वी खण्डको दाउन्ने क्षेत्रमा चार किलोमिटर बाटो ढलान गर्नुपर्नेछ”, उनले भने, “अहिलेसम्म सवा ६ मिटर चौडाइको नौ सय मिटर ढलान गरिसकेका छौँ, बाँकी ढलान पनि भइरहेको छ ।” दाउन्ने क्षेत्रको ढलानसँगै अरुणखोला र गिरुवारी खोलामा पुल निर्माण भइरहेको उनले बताए ।

गिरुवारी खोलाको पुलमा ढलानका लागि ६ वटा स्ल्याप राख्नुपर्ने उल्लेख गर्दै उनले दुईवटा पूरा भएको र बाँकी चार वटा निर्माणको चरणमा रहेको जानकारी दिए । दाउन्ने क्षेत्रमा बन्नुपर्ने २२ वटा कल्भर्टमध्ये तीनवटा, सडकको दुवैतर्फ ६ मिटर चौडाइको १७ दशमलव चार किलोमिटर सर्भिस लेनको काम बाँकी रहेको उनले जानकारी दिए ।

गैँडाकोटको नारायणी नदीको पुलसँग जोडिने करिब एक सय मिटर सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडकको किनारमा ग्याबिन राखेर माटो भर्ने काम सकिएको छ । “अब गैँडाकोटको बाँकी रहेको ठाउँमा सब बेस, बेस कोर्ष सकिन्छ र कालोपत्रले नारायणीको पुललाई जोड्नेछौँ” उनले भने, “त्यस्तै गैँडाकोटकै जयश्रीको ठूलो पुल दसैँ अगाडि सञ्चालन गर्नेगरी काम भइरहेको छ ।”

तीन सय जना श्रमिक राखेर सडक विस्तार भइरहेको उल्लेख गर्दै उनले अब सडक विस्तारमा कुनै पनि कुराको अवरोध नभएकाले तीव्र गतिमा काम हुने बताए । “निर्धारित समयमा सडक विस्तारको काम नसकिए कामको प्रगतिको आधारमा ६ महिना म्याद थप गर्न माग गर्छौँ” उनले भने, “त्यस अवधिमा भने सबै काम सकाएर सबै सडक सरकारलाई हस्तान्तरण गर्ने अवस्थामा पुग्छौँ ।”

निर्माण कम्पनीले सात वर्ष अगाडि नेपाल सरकारसँग ४२ महिनाभित्र सडक विस्तार पूरा गर्ने सम्झौता गरी विसं २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरेको थियो । कूल ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्ड (गैँडाकोट-दाउन्ने) ६५ किलोमिटरको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा पश्चिम खण्ड(दाउन्ने-बुटवल) ४९ किलोमिटरको लागत रु सात अर्ब ८६ करोड ३४ लाख गरी जम्मा रु १६ अर्ब ९९ करोड ५२ लाख रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट