काठमाडौं । दुर्गा प्रसाईंलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनले दिएको आदेश विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च जाने भएको छ ।
महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र टंकप्रसाद गुरुङको संयुक्त इजलासले प्रसाईंलाई आपराधिक उपद्रवको मुद्दामा धरौटीमा छोड्न दिएको आदेशमा गम्भीर त्रुटि भएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा आदेश बदर गरी थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै निवेदन दिने निर्णय गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयले प्रसाईंले मान्छे मार्ने गरी भएको भीडको नेतृत्व गरेको, तीनकुनेमा मान्छे मरेको घटनामाथि नै अदालतले सन्देह गर्न नहुने, अपराधलाई नै बढवा गर्न नहुने र अदालतले ‘अर्बपति न्याय’ स्थापित गर्न नहुने निर्क्यौ सहित फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार सर्वोच्च अदालतमा निवेदन दिने निर्णय गरेको जनाएको छ ।
चैत १५ मा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस