विराटनगर । भदौ १ गते विराटनगरमा निकालिने ५७ औं संस्करणको रथयात्राको तयारी पूरा भएको राधाकृष्ण रथयात्रा मूल आयोजक समितिले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गरी आइतबार निकालिने रथयात्राको तयार पूरा भएको जानकारी दिएको हो । रथयात्रालाई विराटनगरमा विशेष उत्सवका रुपमा लिइन्छ । यो पटक नयाँ रथमा राधाकृष्ण बिराजमान गराई रथारोण गराइने आयोजकले जनाएको छ ।
नया रथ निर्माणको लागि विराटनगर महानगरपालिकाले सहयोग गरेको छ ।

महानगरपालिकाले नयाँ रथ निर्माणमा रु ४४ लाख ७८ हजार सहयोग गरेको छ । विराटनगरका मेयर नागेश कोइरालाका अनुसार यो सबैको साझा उत्सव भएकोले स्थानीय सराकार हुनुको नाताले महानगरले नयाँ रथ निर्माणमा सहयोग गरेको हो ।
उनले भने, ‘‘यो धार्मिक कुरा हो । जनताले हामीलाई कर तिर्नुहुन्छ, त्यही कर जनताको खातिर र पुनित कामका लागि हामीले सदुपयोग गरेका हौं ।’ मेयर कोइरालाले रथ अत्याधुनिक तरिकाले तर मौलिकतालाई कायम गर्दै निर्माण भएको जनाए । अबको ५० वर्षसम्मका लागि यही रथबाट राधाकृष्णको रथारोहण गर्न सकिने उनको भनाई छ ।

विराटनगरमा तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट हरेक वर्ष रथयात्रा निकाल्ने गरिन्छ । पहिले खटजात्रा गराउने चलन थियो ।
रथयात्राको अवसरमा प्रदेश सरकारले मोरङ, सुनसरी र झापा तीन जिल्लामा सर्वजनिक बिदा समेत दिइएको छ ।




प्रतिक्रिया दिनुहोस