विराटनगर । विराटनगरमा आइतबार ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य रूपमा सुरु गरिएको छ । तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूजाअर्चना गरेपछि अपराह्नबाट रथयात्रा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।
मुख्यमन्त्री कार्कीले शुभारम्भ समारोहमा बोल्दै रथयात्रालाई देशको मात्र नभई एसियाकै दोस्रो ठूलो धार्मिक उत्सव भएको बताए। उनले नेपाललाई धार्मिक र जातीय विविधताले सम्पन्न राष्ट्रका रूपमा उल्लेख गर्दै, यस्ता सांस्कृतिक पर्वहरूले सामाजिक एकता र समृद्धिको सन्देश दिने बताए।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले यस वर्ष विशेष रूपमा नयाँ रथ निर्माण गरिएको जनाए। उनका अनुसार, रथ निर्माणका लागि महानगरले रु ४४ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको हो। “यो रथयात्रा विराटनगरबासीलाई एकताको सूत्रमा बाँध्ने प्रमुख आधार हो,” उनले भने।
प्यागोडा शैलीमा निर्माण गरिएको नयाँ रथको उचाइ २१ फिट, लम्बाइ १९ फिट र चौडाइ १४ फिट रहेको छ। यसअघि प्रयोगमा रहेको पुरानो रथको उचाइ १८ फिट, लम्बाइ १६ फिट र चौडाइ १२ फिट थियो। विसं २०२५ मा निर्माण भएको पुरानो रथ ५७ वर्षसम्म प्रयोगमा रहेको थियो।

नयाँ रथ कम्तीमा ५० वर्षसम्म टिक्ने गरी निर्माण गरिएको मेयर कोइरालाले जानकारी दिए। श्रीराधाकृष्ण रथयात्रामा पुष्पवृष्टि गर्न नेपाली सेनाको हेलिकप्टर विराटनगर आई फर्किसकेको छ । सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गरेको थियो । कोसी प्रदेश सरकारको समन्वयमा रथयात्रामा पुष्पवृष्टि गर्न होलिकप्टर मागाइएको थियो ।
राधाकृष्ण रथयात्रालाई विराटनगरमा मात्र नभई देश विदेशमा समेत विशेष मान्ने गरिएको छ ।













प्रतिक्रिया दिनुहोस