२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

झापामा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’पुस्तक ३० हजार थान बिक्री

आइतवार , भाद्र ८, २०८२

झापा । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ ।

आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियान लिएर उनी गत एक महिना झापामा रहेका थिए। यस अवधिमा उनको पुस्तक बिक्रीबाट दुई करोड २५ लाख संकलन भएको छ ।

महाकालीबाट पुस्तक बिक्री गर्दै मेचीको किनार आइपुग्दा उनको सबैभन्दा बढी पुस्तक बिक्री भएको जिल्ला झापा हुन पुगेको छ । उनको पुस्तक सुनसरीमा २७ हजार र रुपन्देहीमा २० हजार प्रति बिक्री भएको थियो ।

जिल्लाको १५ वटै पालिकामा उनी पुस्तक बिक्रीका लागि पुगेका थिए । भद्रपुर नगरपालिकामा सात दिनमा तीन हजार २१९ प्रति अर्थात् २४ लाख १४ हजार २५० को पुस्तक बिक्री भएको अभियानमा संयोजनकारी भूमिका निर्वाह गरेका भद्रपुरका दिपेश ढकालले बताए ।

“उहाँ अति साधारण जीवनशैली भएको व्यक्तित्व हुनुहुँदोरहेछ”, ढकालले भने, “पुस्तक बिक्री अभियानमा हिँड्दा उनले बाटामा पोलेका मकै र मःम खाएर भोक मेटाउनुहुन्थ्यो । ऐस, आराम र सम्मानमा उहाँको रुचि हुँदैनथ्यो । आफूले लगाएका लुगा आफैँ धुनुहुन्थ्यो ।”

झापाबाट पुस्तक बिक्रीका लागि इलाम पुगेका वैज्ञानिक पुनको अभियानमा अर्का एक जना सहयोगी छन् । सामान बोक्ने सवारीसाधनमा आएका उनी त्यही गाडी लिएर अभियानमा पुग्छन् । उनको सहयोगीले गाडी हाँक्छन् ।

बिक्रीबाट संकलन भएको नगद उनले राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा नियमित रूपमा जम्मा गर्ने ढकालले बताए। “दिनभरि किताब बेच्न हिँड्दा खुट्टा सुन्निने गरेका छन्”, ढकाल भन्छन्, “उहाँलाई आफ्नो स्वास्थ्यको पनि त्यति चिन्ता देखिँदैन, जति चिन्ता उहाँ वीरगञ्जको औजार कारखाना चलाउने विषयमा लिनुहुन्छ ।” पुस्तक विक्रीबाट सङ्कलन भएको रकम आविष्कार केन्द्रमार्फत वीरगञ्ज औजार कारखाना सञ्चालनमा खर्च हुँदै आएको वैज्ञानिक पुनले बताएका छन् ।

आत्मकथा बेच्दै हिँडेको पाँच सय दिन पूरा भएको जनाउँदै वैज्ञानिक पुनले अहिलेसम्म दुई लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री भइसकेको बताए । “अहिलेसम्ममा खर्च कटाएर लभगभ १२ करोड बच्यो । त्यही पैसाले वीरगञ्ज कृषि औजार कारखाना मर्मत गरेको हो र नयाँ मेसिनहरू पनि थपेको हो ।” आफूले नेतृत्व गरेर सञ्चालनमा ल्याएको वीरगञ्ज औजार कारखाना राम्रैसँग चलिरहेको र त्यहाँ ४० इञ्जिनियरहरूले रातदिन काम गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट