२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

पशुपतिनाथमा तीज पर्वको तयारी पूरा

सोमवार , भाद्र ९, २०८२

काठमाडौँ । हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तीजका अवसरमा दर्शनार्थ पाल्ने भक्तजन एवं विशेष गरी हिन्दू नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्थालगायत तयारी पूरा भएको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर छिर्न चार वटा मार्गको व्यवस्था गरिएको छ । पहिलो मार्ग गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।

दोस्रो मार्ग मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्ष हुँदै फर्कने व्यवस्था गरिएको छ ।

यस्तै, पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्ष हुँदै फर्कन तेस्रो मागको व्यवस्था गरिएको कोषले जनाएको छ ।

चौथो मार्ग तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । दर्शनार्थीले छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले बताए ।

श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला, जयवागेश्वरीमा वितरणको व्यवस्था मिलाइएको छ ।

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् । भक्तजनबाट गौदान, पूर्णपात्रो जस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको जानकारी दिइन् ।

बहुमूल्य गरगहना लगाएर र ससाना बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरू बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । विगतका वर्षमा जस्तै यसवर्ष पनि तीजका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गरी सुरक्षाको प्रबन्ध मिलाइएको छ । आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिइने कोषले जनाएको छ । साथै राष्ट्रिय अनुसन्धान विभागबाट मेला क्षेत्रमा पर्याप्त अनुगमनको व्यवस्था मिलाइएको छ ।

मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोसाकमा प्रहरी खटाइ पर्वको दुई दिन अघिदेखि नै त्यस्ता क्रियाकलापमा संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई राख्ने व्यवस्था भएको छ । यसका साथै स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, सरसफाइलगायत व्यवस्था चुस्त रूपमा गरिएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट