काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।
हरितालिका तीजको शुभकामना दिदै उनले यो पर्व धार्मिक आस्था, सांस्कृतिक गौरव र पारिवारिक प्रेमको अनुपम प्रतीक भएको बताए ।
उनले भनेका छन्, “प्रकृतिको हरियालीले सिँगारिएको मौसममा मनाइने यो पर्व उत्सव, उमङ्ग, उल्लास र आत्मीय मिलनको सन्देश बोकेर आउँछ, नेपाली समाजको बहुरङ्गी संस्कृति र विविध परम्पराबीच मनाइने यो पर्वले हामीलाई एकता, सहिष्णुता र आपसी सद्भावको मार्गमा अग्रसर हुन सघाउँदछ ।”
पारिवारिक समर्पणको प्रतीक यो पर्वमा विवाहित महिलाहरूले पतिको दीर्घायु र समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ भने कुमारी कन्याहरूले भगवान् शिवजस्तो योग्य वरको कामना गर्दै मनाउने चलन र धार्मिक मान्यता रहिआएको छ ।
सामाजिक एकता र मेलमिलापको सन्देश बोकेको तीज पर्वले विभिन्न समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्ने र टाढा पुगेका छोरीचेलीहरुलाई माइतीले बोलाउने मौलिक परम्पराले सामाजिक÷पारिवारिक आत्मीयता र सद्भाव कायम राख्न सघाउने उनको भनाइ छ । उनले सन्देशमा भनेका छन्, “नेपालमा बसोबास गर्ने विभिन्न जाति, समुदायलेसमेत धुमधामका साथ मनाउने यो पर्वले सांस्कृतिक विविधता बोकेको छ, यो पर्वले नेपाली समाजको सांस्कृतिक विविधता र एकतालाई बलियो बनाउन सहयोग पुग्दछ ।”
महिलाहरूले परम्परागत गीत गाउँदै मनोरञ्जन गर्ने, दुःखसुखका भावना व्यक्त गर्ने माध्यमका रूपमा तीजलाई उपयोग गर्ने हाम्रो रैथाने प्रचलन हो । तीजको अघिल्लो दिन मीठा परिकार बनाई आफन्तसँग रमाइलो गर्दै ‘दर’ खाने चलनले सामाजिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्छ । उपराष्ट्रपति यादवले सबैले तीजको धार्मिक र सांस्कृतिक मूल्यलाई आत्मसात् गर्दै मर्यादित र मौलिक ढङ्गले मनाउनुपर्ने आवश्यक औँल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस