काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिजलाई नाचगानको पर्वको रुपमाभन्दा तिज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सवको रुपमा लिनुपर्ने बताएका छन् ।
तिज पर्वको अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘तिजलाई प्राय गीत–नृत्यको पर्वका रूपमा मात्र बुझ्ने गरिएको छ । तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ ।’
प्रधानमन्त्री ओलीले थपेका छन्, ‘प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समयक्रममा महिलामात्र व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मत र विचारहरू पनि आएका छन् । हाम्रो संस्कृतिले तिजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ ।’
दिदीबहिनीहरूलाई तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा पेजमा लेखेका छन्, ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् ।’
प्रतिक्रिया दिनुहोस