२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ : कुलमान घिसिङ

बुधवार , भाद्र ११, २०८२

लन्डन । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर आएको तर त्यसका लागि सही नीति र नेतृत्व हुनुपर्ने बताएका छन्।

हाल बेलायतको भ्रमणमा रहेका घिसिङले दक्षिण पूर्वी लन्डनमा आयोजित 'नेपालको ऊर्जा क्षेत्रका चुनौती र सम्भावना' विषयक एक नीतिगत छलफलमा भाग लिँदै करिब एक दशक अघि नेपालमा दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोग्नु परेको तर संस्थागत सुधार, दक्ष ऊर्जा व्यवस्थापन र सेवाप्रति प्रतिबद्धताबाट लोडसेडिङ अन्त्य गर्न सफलता मिलेको बताए ।

'नेपालको विद्युत् पहुँच ५६ प्रतिशतबाट झन्डै १०० प्रतिशत पुग्यो र विद्युत् प्राधिकरण घाटाबाट नाफामा पुगेको छ, जसले प्रसारण र उत्पादनमा फेरि लगानी गर्न सम्भव बनाएको छ,' उनले भने, 'आज नेपाल भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्ने मुलुक बनेको छ र झन्डै शत प्रतिशत ऊर्जा नै स्वच्छ र नवीकरणीय स्रोतबाट प्राप्त भएको हो । '

नेपालको जलविद्युत यात्रा ११५ वर्षअघि १९११ मा फर्पिङ जलविद्युत र १९३९ मा सुन्दरी जल जलविद्युत आयोजनाबाट ब्रिटिस सहयोगमै सुरु भएको उनले स्मरण गरे। 'आज ३,८०० मेगावाटभन्दा बढी स्थापित क्षमता र हजारौँ मेगावाट पाइप लाइनमा छन्। हाम्रो लक्ष्य २०३५ सम्ममा २८,५०० मेगावाट पुर्‍याउने र त्यसमध्ये १५,००० मेगावाट निर्यातका लागि छुट्टाउने हो।' उनले भने ।

भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता भइसकेको छ, बङ्गलादेशमा पनि निर्यात सुरु भइसकेको बताउँदै उनले भुटानसहितको क्षेत्रीय ऊर्जा मार्ग खोलिरहेको र चीनसँग भविष्यमा जोड्ने सम्भावना पनि भएको बताए ।

भारत र बङ्गलादेशलाई स्थिर र स्वच्छ बिजुली चाहिएकोले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर दिएको घिसिङले बताए। हाम्रो जलविद्युतले सौर्य–निर्भर ग्रिडलाई सन्तुलन दिन सक्छ, उत्सर्जन घटाउन सक्छ, र विकासको लागि उत्प्रेरकको काम गर्दछ । नेपालले हरित हाइड्रोजनलाई भविष्यको ऊर्जा स्रोत र औद्योगिक प्रयोगका लागि पनि अध्ययन गरिरहेको पनि उनले जनाए।

आफ्नो कार्यकाल चार महिना मात्रै बाँकी रहँदा अनपेक्षित रूपमा पदबाट हटाइएको प्रसङ्ग उल्लेख गर्दै घिसिङले यसले राजनीतिक अस्थिरता र जबाफदेहिताको कमीतर्फ इङ्गित गरेको बताए।

'नेपालका युवाहरू परिवर्तन चाहन्छन् । उनीहरूलाई परिणाम दिने नेतृत्व चाहन्छन् । यही कारण म उज्यालो नेपाल अभियान मार्फत आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छु,' उनले भने।

कार्यक्रममा युसीएल इन्स्टिच्युट अफ एजुकेसनका प्राध्यापक डा तेजेन्द्र फेरालीले शिक्षाका लागि विद्युत् पूर्वाधार हो भन्दै लोडसेडिङ अन्त्य गर्न घिसिङको नेतृत्व र योगदानको प्रशंसा गरे।

उक्त अवसरमा विश्व चेसका ग्रयाण्ड मास्टर ७७ वर्षीय रेमण्ड कीनले घिसिङलाई सम्मान पत्र तथा टोनी बुजन मेडल प्रदान गरे।

कार्यक्रममा ब्रिटिस संसद्को माथिल्लो सदन हाउस अफ लर्ड्सका सदस्य लर्ड रामी रेञ्जरको तर्फबाट उनका सहयोगी अत्ता हकले छोटो मन्तव्य राखेका थिए। पानस हेल्पिङ्ग ह्यान्डका सुजन कटुवालले सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट