काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा क्षति व्यहोरेका व्यवसायीहरुलाई सरकारले मल्हम लगाउने काम गर्ने बताएकी छिन् ।
आज प्रधानमन्त्री कार्यलयमा पदभार गर्ने क्रममा उनले भनिन्, ‘अझै पनि व्यवसायी साथीहरुले केही गर्न सकिन्छ भनेर आँट गर्नुभएको छ । उहाँहरु हाम्रै छोराछोरी, सन्तान हुन् । हामीले उहाँहरुको घाउमा मल्हम लगाउनुपर्छ । ’
व्यवसायीहरुलाई 'जसरी उभिन्छ उभियौ' भनेर छोड्न नहुने बताउँदै उनले कसरी उठाउने र कसरी सहयोग गर्नेतर्फ सरकारले ध्यान दिने उनले जानकारी दिइन् ।
अझै पनि आँट गरेर हामी हार्दैनौँ भन्ने मनसायले अघि बढेका व्यवसायीहरुलाई उनले धन्यवाद समेत ज्ञापन गरिन् ।
शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस