काठमाडौँ । एउटा समाचारको प्रभाव कति हुन्छ ? हामीले सञ्चारमाध्यमबाट हरेक दिन दिने/लिने सूचनाले व्यक्तिको मानसिकतामा कति असर पार्छ ? गलत र भ्रामक सूचनाका कारण कतिसम्मको क्षति व्योहोर्नु पर्छ भन्ने उदाहरण हो ‘हिलटन होटल’ । गलत सूचना, समचारकै कारण शंकर ग्रुपले साँढे आठ अर्ब रुपैयाँको मूल्य चुकाउनु परेको छ ।
गत वर्षको साउनमा काठमाडौँको नक्सालमा अन्तर्राष्ट्रिय चेन हिलटन ब्राण्डका नाममा शंकर समूहले होटल सुरु गरेको थियो । पर्यटकको रोजाईमा परिरहेको हिलटनबारे केही समय अगाडि युट्युबमा विभिन्न खबरहरु आए । भ्युज बटुल्ने लालसले जन्माएको फेक न्यूजले जनमानसमा यसरी राज गर्यो कि गत भदौ २४ गते अन्ततः हिलटनले नसोचेको मार खेप्नुपर्यो ।
भदौ २४ गते काठमाडौँसहित मुलुकभरका विभिन्न सहरमा जेनजीको प्रदर्शन चलिरहेको थियो । प्रदर्शनकारीका निशानामा थिए, संसद् भवन, न्यायपालिका र सिंहदरबार । त्यसबाहेक राजनीतिक दलका पार्टी कार्यालय, शीर्ष नेताका घर र व्यापारिक भवन पनि उनीहरुको निशानामा थिए । त्यसैमध्येको एक थियो, हिलटन होटल ।
केही समय अघि एक युट्युब च्यानलमा ‘हिलटनमा कुनै राजनीतिक दलमा आबद्ध भएका व्यक्तिको लगानी’ भएको उल्लेख गरेर भिडियो सार्वजनिक भयो, जसको सत्यता अलिहेसम्म प्रमाणित हुन भने सकेको छैन । यद्यपी, सोही भिडियोको कारण हिलटन आज खरानीमा परिणत भएको धेरैले दावी गरेका छन् ।

हिलटन जल्दै गर्दा होटलका ८० कोठामा १४० जना पाहुना थिए । होटल व्यवस्थापक टिम होटल जल्दै गर्दा पाहुनालाई सुरक्षित गर्नतर्फ लाग्यो । भदौ २४ गते दिउँसो १२ बजे तीन सयभन्दा बढी होटलमा एकाएक प्रवेश गरेर विध्वंश मच्चाउन लागे । उनीहरुको यो क्रम दिउँसो चार बजेसम्म चल्यो । उनीहरुले लगाएको आगोले साँझ ५ बजेसम्म होटललाई छोपिसकेको थियो । त्यो आगो निरन्तर १२ घण्टासम्म बलिरह्यो । मुलुकको पर्यटनमा योगदान पु-याउने उद्देश्यले सुरु गरिएको होटल, छोटो समयमै खरानी बन्यो ।
जल्यो होटल, जलेन हिम्मत
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालले आफूहरु आगोले ध्वस्त भएको होटललाई फेरि उठाउने प्रतिबद्धता देखाएका छन् । उनका अनुसार यतिबेला होटलमा भएको क्षति, पुनःनिर्माण गर्ने अवस्थालगायतका विषयमा अध्ययन भइरहेको छ । होटल पुनःनिर्माणका सन्दर्भमा हिलटनले अन्तर्राष्ट्रिय विज्ञहरुको समूह पठाउनेछ । जसले आवश्यक अध्ययन गरी कसरी पुनःनिर्माण गर्ने भन्ने निर्णय गर्नेछ ।
नक्सालमा जलेको हिलटन होटल, एउटा होटल मात्रै थिएन । पछिल्लो समय नेपालको पर्यटन क्षेत्रमा ओइरिँदै गरेको विदेशी लगानीको एउटा अंश थियो । होटल संघ हानका अनुसार जेनजी प्रदर्शनका क्रममा होटल क्षेत्रमा मात्रै २५ अर्ब रुपैयाँ बराबर क्षति पुगेको छ । जसमा हिलटनको हिस्सा सबैभन्दा धेरै आठ अर्ब रुपैयाँ छ । होटल क्षेत्रमा भएको आक्रमण राजनीतिक प्रतिशोधका कारण भएको जानकार बताउँछन् ।
अर्थमन्त्री रामेश्वर खनालले केही दिनअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तरक्रियामा हिलटनमाथिको आक्रमणका सन्दर्भमा सञ्चारमाध्यम पनि जिम्मेवार रहेको संकेत गरेका थिए । “समाचार दिने विषयमा सञ्चारमाध्यम पनि संयमित हुन जरुरी छ, तथ्यमा आधारित समाचार दिन जरुरी छ, हिलटन होटल प्रकरण जस्ता दोहोरिन दिनुहुन्न, राजनीतिक प्रतिशोधका कारण निजी क्षेत्रको लगानीमाथि ठूलो आक्रमण भएको छ”, उनले भनेका थिए, “बलियो अर्थतन्त्र र समाज निर्माणमा सञ्चारमाध्यमको पनि ठूलो भूमिका हुन्छ ।”

हिलटन मात्रै होइन, राजनीतिक प्रतिशोधमा काठमाडौँको वर्णवास होटलदेखि दाङको होटल माला इन र विराटनगरको नेपालीरिका होटल ध्वस्त भए । साथै पोखराको वरपिपल रिसोर्ट, मन्त्र थकाली भान्साघर, होटल आडम, सरोवर होटल, बगैँचा रिसोर्ट, गुडविल होटल र अंशुभरालगायतमाथि ठूलो आक्रमण भयो ।
होटल क्षेत्रमाथि भएको यो आक्रमणले पर्यटन क्षेत्रमा दूरगामी असर पार्ने जानकार बताउँछन् । भूकम्प पछाडिका १० वर्षमा कोरोना महामारीले ठूलो असर परेपनि नेपालमा होटल क्षेत्रमा भने लगानी ओइरिएको थियो । तर, जेनजी प्रदर्शनका क्रममा होटलमाथि भएको आक्रमणले भने ठूलो असर गरेको उनीहरुको भनाइ छ ।
हिलटन २०८१ साउन १ गतेदेखि सञ्चालनमा आएको थियो । १० रोपनी क्षेत्रफलमा फैलिएको १७ तले होटलमा १७२ कोठा थिए । जसमा बैंकले ५ अर्ब रुपैयाँ लगानी गरेको थियो भने १८३ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । होटलले आर्थिक वर्ष २०८१/८२ मा ८० करोड रुपैयाँ आम्दानी गरेको थियो भने १५ करोड रुपैयाँ राजस्व भुक्तानी गरेको थियो ।
होटलमा नेपाल मेगा इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कृषि विकास बैंकको लगानी छ । होटलमा आगजनी भएसँगै बैंक तथा वित्तीय संस्थाको ऋण लगानी पनि जोखिममा परेको छ । यद्यपी, होटलमा ५ अर्ब रुपैयाँको बीमा भएकाले यसबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

कस्तो छ नेपालमा होटल क्षेत्रको अवस्था
नेपाल होटल संघ (हान)का अध्यक्ष बिनायक शाहका अनुसार पछिल्लो एक दशकमा नेपालका होटल क्षेत्रमा स्वदेश र विदेशबाट खर्बौँ बराबरको लगानी थपिएको छ र यो अझै जारी छ । “विसं २०७२ साल अघिसम्म विभिन्न कारणले पर्यटन क्षेत्रमा लगानी उत्साहजनक रुपमा बढेको छैन, त्यसपछि पर्यटक आगमन कमजोर रहेपनि लगानी बढेको छ, समग्रमा अहिले मुलुकको वार्षिक बजेट जत्तिकै अर्थात करिब २० खर्ब रुपैयाँ यस क्षेत्रमा लगानी भइसकेको हाम्रो अनुमान छ”, उनले भने ।
उनका अनुसार पछिल्ला १० वर्षमा स्वदेशी र विदेशी दुवै होटलका चेन विस्तार बढेको छ । विदेशी चेन होटलहरु नेपाल आउने क्रम बढेकाले विश्वमा नेपालको पर्यटनको पनि प्रचारप्रसार बढेको उनको बुझाइ छ । “विदेशी चेन होटल नेपालमा हुँदा विदेशी पर्यटकलाई पनि सहज हुन्छ, किनभने उनीहरुले गुणस्तरको चिन्ता गर्नुपर्दैन, साथै चेन होटलहरुले पनि नेपाललाई गन्तव्यका रुपमा प्रचारप्रसार गरिरहेका हुन्छन् ।”

पछिल्लो १० वर्षमा मेरियट, हिलटन, मक्र्योर, दुषित थानी, सिन्तामणि, अलफ्टलगायतका चेन ब्राण्डले नेपालमा उपस्थिति जनाइसकेका छन् । ठूलो लगानीका केही होटलहरु निर्माणाधनी छन् । विदेशका चर्चित चेन ब्राण्डअन्तर्गत पनि विभिन्न नाममा होटलहरु सञ्चालन हुने क्रम जारी छ । जस्तैः एउटै ब्राण्डअन्तर्गत हायात रिजेन्सी र हायात सेन्ट्रिक सञ्चालनमा छन् भने मेरियट, ¥याडिसनलगायतका ब्राण्ड पनि विभिन्न नाममा आएका छन् । त्यति मात्रै होइन, पछिल्लो १० वर्षमा नेपालको सोल्टी होटलले पनि चेन हस्पिटालिटीका रुपमा आफूलाई अगाडि बढाएको छ । त्यसबाहेक सिद्धार्थ हस्पिटालिटी र पौवा होटलले पनि आफूलाई चेन होटलका रुपमा बिस्तार गरिरहेका छन् ।
हानका अध्यक्ष शाहका अनुसार यो क्षेत्रमा लगानी मात्रै ओइरिएको छैन, वार्षिक करिब १० लाखलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पनि दिएको छ । पर्यटन क्षेत्र सिजनअनुसार पनि चल्ने भएकाले वार्षिक औसतमा १० लाखले रोजगारी पाइरहेको शाहको भनाइ छ ।

पर्यटन विभागका अनुसार पछिल्लो एक दशकमा होटलमा उल्लेख्य लगानी थपिएको छ । उक्त अवधिमा पाँच तारा डिलक्स स्तरमा तीन वटा होटल थपिएका छन् । विसं २०७२ अघिसम्म जम्मा नौ होटलले पाँच तारे स्तरको मान्यता पाएकामा हाल यो संख्या बढेर २८ पुगेको छ भने पाँच तारे होटलमा रुम दोब्बर अर्थात् ५ हजार ३४० पुगेको छ ।
यस अवधिमा तीन वटा लक्जरी हेरिटेज बुटिक होटलले पाँच तारे स्तरको मान्यता पाएका छन् । झण्डै ४० वटा चार तारे होटल थपिएका छन् । चार वटा हेरिटेज बुटिक होटल र तीन वटा लक्जरी रिसोर्ट थपिएका छन् । नौ वटा डिलक्स रिसोर्ट थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस