काठमाडौँ । जेनजीको प्रदर्शन नहुँदो हो त, एनसेलले यतिबेला धुमधामसँग २०औँ वार्षिक उत्सव मनाएको हुन्थ्यो । नेपालमा दुई दशकको यात्रालाई देशव्यापी रुपमा भव्य रुपमा मनाउने एनसेलका योजना जेनजीको प्रदर्शनले तुहाइदिएको छ ।
एनसेलका एक प्रतिनिधिका अनुसार कम्पनीले ठूलो रकम खर्चेर २०औँ वर्षगाँठ मनाउने तयारी गरिरहेको थियो । तर, त्यसैको पूर्वसन्ध्यामा जेनजीले देशव्यापी आन्दोलन गरे । आन्दोलनले राजनीतिक समीकरणमा फेरबदल मात्रै गरिदिएन, खर्बौ रुपैयाँ बराबरको भौतिक क्षति पनि गरायो । जसबाट एनसेल पनि अछुता रहेन ।
जेनजीको आन्दोलन र उनीहरुले राखेका मागसँग एनसेलको कुनै साइनो थिएन । न त कुनै राजनीतिक पूर्वाग्रह नै राख्नुपर्ने अवस्था नै थियो । पछिल्लो दुई दशकमा नेपालको दूरसञ्चार क्षेत्रलाई यहाँसम्म ल्याइपु-याउनका लागि एनसेलले दिएको योगदानको जति प्रसंसा गरेपनि कम नै हुन्छ ।
एनसेलका प्रतिनिधि भन्छन्, “आन्दोलनकारीहरुको निशाना एनसेल पर्नुको कुनै कारण हामीले भेटेका छैनौँ, हामी जहिले पनि उपभोक्ताको हितका लागि काम गर्दै आएका थियौँ, प्रदर्शनकारीले एनसेलको मुख्यालयसहितका कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गर्दा पनि हामी आफ्नो जिम्मेवारीबाट कत्ति पनि पछि हटेनौँ ।”
त्यसो त एनसेलले कार्यालयमाथि ठूलो क्षति हुँदा पनि तीन दिनसम्म उपभोक्तालाई निःशुल्क भ्वाइस र एसएमएसका साथै इन्टरनेट उपलब्ध गराएको थियो । त्यो आफ्नो उपभोक्ताप्रतिको दायित्व भएको एनसेलको भनाइ छ ।
“प्रदर्शनका क्रममा एनसेलमाथि आक्रमण नभएको भए २०औँ वाार्षिकोत्सव भव्य रुपमा मनाउँथ्यौँ, तर अहिले ती सबै योजना स्थगित भएका छन्, विभिन्न अफर र योजना यत्तिकै थन्किएका छन्”, एनसेलका प्रतिनिधिले भने ।
ठूलो क्षति
काठमाडौँको लौनचौरस्थित एनसेलको केन्द्रीय कार्यालयका साथै पोखरा, धनगढी र महेन्द्रनगरका कार्यालय प्रदर्शनका क्रममा निशानामा परे । यी कार्यालयहरुमा तोडफोड, लुटपाट र आगजनी भएको छ । प्रदर्शनकारीको आक्रमणपछि यतिबेला कार्यालय कर्मचारीबिहीन छन् ।
एनसेलका अनुसार अहिले ४०० भन्दा बढी कर्मचारी घरबाटै काम गरिरहेका छन् । काठमाडौँस्थित केन्द्रीय कार्यालयको भवनको पहिलो तला पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । प्रदर्शनकारीले अन्डरग्राउण्डमा रहेका गाडीहरु समेत बाहिर ल्याएर आगजनी गरेका छन् । एनसेलका अनुसार दुई दर्जनभन्दा बढी सवारी साधन प्रदर्शनकारीले जलाएका छन् ।
पहिलो तलामा रहेको एनसेलको ग्राहक केन्द्र ध्वस्त भएको छ भने सम्पूर्ण संरचना काम नलाग्ने अवस्थामा छन् । यति ग्रुपले निर्माण गरेको उक्त भवनमा दुई तला अन्डरग्राउण्ड पार्किङसहित माथि १० वटा तलामा एनसेलको सम्पूर्ण प्रशासनिक काम हुन्छ । पहिलो र दोस्रो तलाका अधिकांश कागजपत्र जलेका छन् । यसले अहिले कार्यालयमा बसेर काम गर्ने अवस्था नरहेकाले वर्क फ्रम होम भइरहेको एनसेलको भनाइ छ । एनसेलमा भएको आक्रमण भौतिक रुपमा जति ठूलो छ, त्योभन्दा ठूलो निजी क्षेत्रको लगानीमाथि भएको देखिन्छ । दुई दशकभन्दा लामो समयदेखि निरन्तर नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको एनसेलमाथि भएको आक्रमणले आगामी दिनमा लगानीकर्तालाई निरुत्साहित गर्ने वातावरण बन्ने जोखिम बढेको छ ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिले एनसेलको केन्द्रीय कार्यालय अनुगमन गरी हौसला प्रदान गरेको छ । साथै राज्यका निकायसँग आवश्यक सहजीकरणका लागि आफूले सक्दो प्रयास गर्ने समेत प्रतिबद्धता जनाएको छ ।
आक्रमणपछि एनसेलले जिल्ला प्रहरी कार्यालयमा पुगेर सिसिटिभी फुटेजसहित घटनामाथि छानबिन गरी दोषी उपर कारबाहीका लागि निवेदन दिएको छ । एनसेलका अनुसार भवनका दशौँ तलासम्म पुगेर प्रदर्शनकारीहरुले लुटपाट र तोडफोड गरेका छन् । उनीहरुले कार्यालयबाट व्यक्तिका निजी सामान, कम्प्युटर, ल्यापटप, टेलिभिजन लुटेर लगेका छन् । एनसेलमा दिउँसोबाट तोडफोड र आगजनी गरे पनि केही व्यक्तिहरुले राति अबेरसम्म पनि एनसेल कार्यालयमा पसेर लुटपाट मच्चाएको एनसेलको भनाइ छ ।
एनसेलमाथिको आक्रमणले नेपालमा लगानीको वातावरण नकारात्मक हुँदै गएको जानकारहरु बताउँछन् । एनसेलमा विदेशी लगानी समेत रहेको हुँदा प्रत्यक्ष विदेशी लगानीमा पनि समस्या हुनसक्ने उनीहरुको बुझाइ छ ।
“बीस वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पु-याउँदै आएको छ”, कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, “आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौँ, हामी फेरि उठ्ने छौँ ।”
पछिल्लो समय नेपालको दूरसञ्चार क्षेत्रले विभिन्न कठिनाइ सामना गरिरहेको र पछिल्लो केही वर्षयता आम्दानीमा आएको निरन्तरको ओरालो यात्रामा उक्त आक्रमणले थप कठिनाइ उत्पन्न भएको एनसेलको बुझाइ छ । सरकारले आवश्यक सहजीकरण नगरिँदा अर्बौँ लगानी भएका टेलिकम कम्पनीहरुको आम्दानी घट्दो क्रममा रहेको अवस्थामा भएको यो आक्रमणले एनसेलको व्यावसायिक रणनीतिलाई अझ पछाडि धकेलेको विश्लेषण गरिएको छ ।
के दियो एनसेलले नेपाललाई ?
एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा मात्रै होइन मुलुकको अर्थतन्त्रको विकासमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ठूलो योगदान दिएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमका एकाधिकारलाई तोड्दै नेपालको दूरदराजसम्म छिटो दूरसञ्चारको पहुँच विस्तारका लागि एनसेलको भूमिका निकै ठूलो छ । सुरुआती अवस्थामा उपभोक्तालाई सिम किन्न समस्या हुने अवस्थामा एनसेलले सस्तोमा सीम उपलब्ध गराएर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई तीव्रता दिएको थियो ।
विस २०६१ साल भदौ १६ मा स्पाइस नेपालका नाममा स्थापना भएको कम्पनीले २०६२ सालदेखि मेरो मोबाइलका नाममा सेवा सुरु गरेको थियो । तत्कालीन समयमा ६ प्रतिशत रहेको इन्टरनेटको पहुँचलाई एनसेले तीव्रता दिएको थियो । एनसेलले सन् २०१० मा व्यावसायिक रुपमा थ्रीजी सेवा सुरु गरेको थियो ।
एनसेलमा हाल प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एक लाखभन्दा बढी आबद्ध छन् । कम्पनीले २० वर्षमा सरकारलाई साढे तीन सय अर्ब राजस्वमार्फत सरकारलाई कर बुझाइसकेको छ । त्यसैले सरकारबाट एनसेल पटक पटक सम्मानित पनि भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढी खर्चिसकेको छ ।
प्रतिक्रिया दिनुहोस