२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एक महिनासम्म बन्द तातोपानी–कोदारी राजमार्ग सञ्चालनमा, दसैँको सामान बोकेका कन्टेनर आउन सुरु

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबारदेखि सञ्चालनमा आएपछि दसैँका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका अनुसार चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र भन्सार यार्डबाट चीनतर्फ कन्टेनरहरू आवत–जावत गर्ने क्रम जारी छ।

पहिरोका कारण एक महिनासम्म बन्द रहेको तातोपानी–बाह्रबिसे सडक आइतबार पन्छाइएपछि ग्राभेल गरेर सोमबारदेखि सवारी आवागमन सुरु गरिएको हो। डाक्लाङ क्षेत्रमा तीन वटा, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच ठाउँमा पहिरो खसेका थिए। सडक डिभिजन कार्यालय चरिकोटले तीन वटा एस्काभेटर, तीन वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाएर काम पूरा गरेको थियो।

पानी परिरहँदा झर्ने पहिरोले गत भदौ ८ गतेदेखि बाटो ठप्प भएको थियो। सडक बन्द हुँदा स्थानीयको आवत–जावत मात्र नभई चीन–नेपाल व्यापारसमेत प्रभावित भएको थियो। पहिरोले लेदो बग्ने र जमिन चर्किने जोखिम हुँदा माथिको करिब दुई सय घर धुरी खतरा मोल्दै थिए।

अन्तरिम चुनावी सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले सर्वपक्षीय बैठक बोलाएर बाटो खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए। त्यसअनुरूप असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको बैठकमा स्थानीयको माग सम्बोधन गर्दै सहमति बनाइयो कि स्थानीयले अवरोध नगरी पहिरो हटाउन सहयोग गर्नेछन्। दीर्घकालीन समाधानका लागि कात्तिक मसान्तमा ठेक्का सूचना निकाल्ने र असार मसान्तसम्म काम सुरु गर्ने योजना पनि तय भएको छ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु र अन्य तीन ठाउँमा खसेको पहिरो हटाएर सडक सञ्चालन गरिएको छ।

सडक सञ्चालनको अवस्था बुझ्न सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोली समेत पुगेको थियो।

टोलीले इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय र सडकलाई स्थायी रूपमा सञ्चालन गर्न आवश्यक दीर्घकालीन प्राविधिक कार्यबारे समेत चर्चा गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट