काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ बीपी राजमार्गको अवस्था अवलोकन गर्न आज काभ्रे जाँदैछन् । बाढीपहिरोले क्षतविक्षत बनाएको सडकको अवस्थाबारे जानकारी लिन र मर्मत–पुनर्निर्माण कार्यको प्रगति बुझ्न मन्त्री घिसिङ काभ्रे जान लागेका हुन्।
मन्त्री घिसिङसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायत अधिकारीहरूको टोली पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। टोलीले बीपी राजमार्गका विभिन्न खण्डमा भएको क्षतिको प्रत्यक्ष अवलोकन गरी तत्काल मर्मतका लागि आवश्यक निर्देशन दिने तयारी गरेको छ।
यही असोज १७, १८ र १९ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गका धेरै स्थानमा सडक भासिनु र कटान हुँदा यातायात अवरुद्ध भएको थियो। कतिपय ठाउँमा पैदल हिँड्ने बाटोसमेत नभएपछि स्थानीयवासी र यात्रुहरू जोखिमपूर्ण रूपमा भिर समाउँदै हिँड्न बाध्य भएका थिए।
सडक पुनः सञ्चालनका लागि सडक विभागले आपतकालीन मर्मत कार्य थालेको भए पनि अझै केही खण्डमा आवागमन सहज हुन सकेको छैन। मन्त्री घिसिङले अवलोकनपछि तत्कालका आवश्यक मर्मत उपाय र दीर्घकालीन व्यवस्थापनका लागि निर्देशन दिने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस