२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

कोईकी हिमालमा पहिलो पटक सफल आरोहण, मुगुको पर्यटनमा नयाँ सम्भावना

बिहिवार , कार्तिक १३, २०८२

मुगु । मुगु जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिका–२ को कोईकी हिमालमा पहिलो पटक सफल आरोहण गरिएको छ ।

बाल्यकालदेखि गाउँलेहरू यसै हिमाललाई टाढाबाट हेर्दै हुर्किएका हुन तर कोही पनि यसका चिसा चट्टानमा पाइला राख्न सकेको मुगुमबासीले कहिल्यै सुनेका थिएनन् । यो हिमालमा कार्तिक ३ गते पहिलोपटक चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सफल आरोहण गरेका हुन् ।

अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्डले कोईकी आरोहण गरेका हुन् । छ हजार एक सय ६९ मिटर अग्लो कोईकी हिमालको शिखरमा सफल आरोहण गरेपछि मुगुम गाउँ उल्लासमय बनेको छ ।

‘हाम्रो गाउँकै सामुन्ने रहेको यो हिमालमा पहिलो पटक मान्छे पुगेको खबरले हामी हर्षित छौँ । चौरी र याक चराउन फेद सम्म पुग्ने गरेका स्थानीयहरु कसैले पनि यो हिमाल आरोहण गरेको सुनेका देखेका थिएनौँ’ स्थानीय तुण्डुल तामाङ भन्छन् ‘अब हामी पनि गौरवका साथ भन्न सक्छौं, यो हाम्रो हिमाल हो ।’

अज्ञात शिखर अब ज्ञात भयो

मुगुको उत्तरी सिमानामा अवस्थित कोईकी हिमाल वर्षौँसम्म अज्ञात रहँदै आएको थियो। स्थानीय बासिन्दाहरू चौरी, घोडा लगायतका पशु चराउन फेदसम्म पुग्थे, तर कसैले पनि शिखरसम्म पुग्ने आँट गरेको थिएनन् ।

पहिलोपटक रिजन ट्रेक प्रालिको व्यवस्थापनमा पाँच जना अष्ट्रियाका आरोही र नेपाली शेर्पाहरूले यो कठिन र साहसिक यात्रा पूरा गरेपछि यहाँका स्थानीयहरू उत्साहित छन्।

मुगुम कार्मारोङ गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष कार्मा तामाङ भन्छन् — ‘कोईकी हिमालको यो सफल आरोहणले मुगु मात्र होइन, देशकै पर्यटन सम्भावनामा नयाँ पाना पल्टाएको छ। अब यस क्षेत्रको प्रचार–प्रसारमा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरुरी छ।’

आरोहणमा सहभागी २८ वर्षे अष्ट्रिया नागरिक सेन्द्रोकले कोईकी हिमालमा उभिँदा फरक अनभूति भएको बताए । ‘यो हिमाल सफा, शान्त र सुन्दर छ। कतै फोहोर छैन, हावामा ताजगी छ। यस्तो प्राकृतिक शुद्धता म पहिलो पटक महसुश गर्दै थिएँ।’ उनले हाँस्दै थपे —‘यहाँका स्थानीयहरूका माया र आतिथ्यले हामीलाई निकै प्रभावित बनायो। म फर्केर आफ्ना साथीहरूलाई यो हिमाल चढ्न प्रेरित गर्नेछु। यो ठाउँ अझ प्रचारित भयो भने, म जस्ता सयौं विदेशी पर्यटकहरू यहाँ आउनेछन्।”

रिजन ट्रेक प्रालिका गाइड पासाङ शेर्पाका अनुसार कोईकी हिमाल चढ्दा कुनै ठूला कठिनाइ भोग्नु परेन । मौसम अनुकूल रह्यो, बाटो रमणीय थियो र दृश्य अद्भुत। अरू हिमालहरूको तुलना गर्दा यहाँको यात्रा सहज र यादगार रहेको उनको भनाइ छ ।

उनी भन्छन् —‘विदेशी आरोहीहरू अत्यन्त उत्साहित थिए। उनीहरू फर्कँदा पनि बारम्बार यही कुरा भन्दै थिए हामी फेरि फर्कनेछौं। कोईकी हिमाल पुग्ने बाटोमा कुनै खालको कठिनाई भोग्नु परेन यो यात्रा सारै अविस्मरणीय रह्यो ।’

अब मुगुको आशा : पर्यटन र पहिचान

पहिलो सफल आरोहणसँगै सरोकारवाला निकायहरुले प्रचार —प्रसारमा जोड दिए कोईकी हिमाल अब केवल प्राकृतिक शिखर होइन, मुगुको गर्व, सम्भावना र पहिचानको प्रतीक बन्ने पर्यटन व्यवसाही राजु कार्की बताउँछन् ।

स्थानीय बासिन्दा च्यावा तामाङका अनुसार यो हिमाल र आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन भए रोजगारी, सेवा–सुविधा र आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको छ । यसका लागि मुख्यत सरकारका तिनै तहको जिम्मेवारी रहेको अध्यक्ष तामङले बताए ।

कोईकी हिमालको पहिलो सफल आरोहणले मुगु जिल्लाको पर्यटन नक्सामा नयाँ सम्भावनाको ढोका खोलेको छ । मुख्य आवश्यकता भनेको राज्यका तिनै तहका सरकार, पर्यटन व्यवसायीबीच सहकार्य गरी यस क्षेत्रको पहुँच, आवास, सूचना र वातावरण संरक्षणमा प्राथमिकता दिँदै उचित योजना बनाइयो भने मात्र यो हिमाल नेपालकै नयाँ हिडन ट्रेजर अफ हिमालय बन्न सक्ने पर्यटन ब्यवसायी राजु कार्कीको भनाइ छ ।

कसरी पुग्ने कोईकी हिमाल ?

हवाई मार्गबाटः

नेपालका जुनसुकै सहरबाट हवाई वा सतहमार्ग हुँदै नेपालगञ्ज पुगिन्छ। त्यहाँबाट रारा विमानस्थलसम्म करिब ३५ मिनेटको हवाई उडान हुन्छ। रारा विमानस्थलबाट १५–२० मिनेटको जीप यात्रामा सदरमुकाम गमगढी पुगिन्छ।

सडक मार्गः

नेपालगञ्ज वा कोहलपुरबाट बसमार्फत सुर्खेत, दैलेख, कालीकोट हुँदै पहिलो दिन मान्मा वा नाग्मा । दोस्रो दिन बिहानै हिँडेर जुम्लाको गोठी ज्युला वा बुलबुले हुँदै दिउँसोसम्म गमगढी पुग्न सकिन्छ ।

त्यहाँ एक रात बसेर भोलिपल्ट बिहानै मुगुम कार्मारोङ गाउँपालिकाको छायल बजार, माग्री गाउँ र ढुङ्गेधारा बजार हुँदै यात्रा जारी रहन्छ। रिउस बगर वा पुलु बजार, लादेगाड, चिताई बगर हुँदै तेस्रो दिन साँझ मुगुम गाउँ पुगिन्छ।

चौथो दिन बिहानै मुगुम गाउँको पाटन क्षेत्रबाट आरोहण दल प्रस्थान गर्छ र पाँचौँ दिन समुन्द्री सतहबाट ४,६०० मिटर उचाईमा रहेको बेस क्याम्प पुगिन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट