२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘ओमबहादुर दर्जी’

शुक्रवार , कार्तिक १४, २०८२

मकवानपुर । बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् । केहीको हातमा कोदालो, कोही ढुङ्गा उठाउँदै छन् र कोही हाँस्यौली अनुहारले एकअर्कालाई ‘शुभबिहानी’ भन्दै स्वागत गर्दैछन् । गाउँपालिका अध्यक्ष सर्केश घलानले सात वर्ष अगाडिदेखि चलाएको श्रमदानको अभ्यासलाई आत्मसात् गर्दै त्यसै भीडभित्र हिलोले छ्यापिएको जुत्ता र मुस्कानले झल्किएको अनुहारसहित देखिन्छन् प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी ।

नेपालका अधिकांश सरकारी अधिकृतहरू कार्यालयको कुर्सीमा सीमित देखिन्छन्, तर दर्जी भने फरक ढङ्गले चिनिएका छन्। हुन त बागमती गाउँपालिकाका अध्यक्ष आफ्नै चाडबाड बिदामात्र होइन बिहान ५ः०० बजेदेखि रातको १२ः०० बजेसम्म कि त पालिका या त कार्यस्थलमा भेटिनु विगत सात वर्षदेखिको दैनिकी नै भइसकेको छ, तर यहाँ प्रशासकीय अधिकृत भएर आभएका दर्जीलाई पनि यही काममा भेट्दा भने स्थानीयको हौसला थप मजबुत भएको छ ।

बिदा, बिहान र साँझ जुनसुकै समय होस्, दर्जी गाउँको विकासका हरेक काममा आफ्नै हातले घामपानी साटेर सहभागी बन्ने गरेका छन् । गाउँका बूढाबूढीदेखि विद्यालयका बालबालिकासम्मले उनलाई अब ‘श्रमिक अधिकृत’ भनेर चिन्न थालेका छन् । मकवानपुरको बागमती गाउँपालिकामा अहिले मापदण्डअनुसारको खेलमैदान, पक्की सडक र साना पुल बनेका छन् । यी संरचना सरकारी ठेक्काले होइन, श्रमदानले बनेका हुन् ।

गाउँपालिकाका अध्यक्षदेखि स्थानीय युवासम्म हरेक शनिबार बिहान बेल्चा बोकेर उपस्थित हुन्छन् । दर्जी र गाउँपालिकाका अध्यक्ष दुवै जनाले सामाजिक सञ्जालमा बिहानै ‘शुभबिहानी, आज पनि श्रमदानमा भेटौँ’ भन्ने सन्देश पठाउछन्, यो सन्देशले श्रमदानमा स्थानीयलाई जुटाइरहेको छ । त्यो सन्देश पढ्ने बित्तिकै गाउँका युवादेखि महिला समूहसम्म काममा जुट्ने गरेको दर्जीको भनाइ छ । “श्रमदानले पैसाको भन्दा मनको एकता ल्याउँछ”, दर्जीको भनाइ हो, “यो विकासभन्दा पनि सामाजिक भावना निर्माणको अभ्यास हो ।”

अधिकृत दर्जीका अनुसार कार्यालयमा कागजमा मात्रै हस्ताक्षर गरेर विकास हुँदैन, गाउँको माटोमा पसिना बगाउँदामात्र विकासको स्वाद आउँछ । “म आफ्नो पदको होइन, आफ्नो कामको जिम्मेवारीमा बाँधिएको छु”, उनी भन्छन्, “बागमतीको माटोमा पसिना बगाउन पाउनु नै मेरो पुरस्कार हो ।”

स्थानीय मुक्ति लामा भन्छन्, “पहिले सरकारी कर्मचारी भनेपछि डर लाग्थ्यो, अब दर्जी सर आएपछि लाग्छ– कर्मचारी पनि हाम्रै साथी हुन्, हाम्रै गाउँको माटोमा पसिना बगाउने साथी ।” उनका अनुसार श्रमदान अभियानले गाउँपालिकाको स्वरुप नै फेरिदिएको छ । पहिले धुलो र हिलोमात्र देखिने बाटो अहिले कालोपत्र भएको छ । खेतका छेउमा खेलमैदान, खोलामा पुल र सामुदायिक भवन निर्माण भएका छन् । लामाका अनुसार दर्जीको हरेक कुरा, हरेक शब्दमा अनुभव, जिम्मेवारी र सेवाको भावना मिसिएको महसुस हुन्छ ।

सुनापतिबाट सुरु भएको यात्रा

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको दुर्गम सानो गाउँमा जन्मेर हुर्किएका ओमबहादुर दर्जीको जीवनयात्रा पनि गाउँको बाटोझै धुलाम्मे तर दृढ छ । परिवारलाई वर्षमा पाँच–छपटक मात्र भेट्ने उनको अधिकांश समय कार्यालय र श्रमदानमा नै बित्ने गरेको छ । विसं २०६९ फागुन २० गते उनले लोकसेवा आयोग नारायणी अञ्चल कार्यालय हेटौँडाबाट खरिदार पदमा सरकारी सेवा सुरु गरेका थिए ।

बाराको इनर्वासिरा र तेतरिया गाविसमा सचिवका रूपमा काम गर्दा उनले गाउँगाउँका समस्या नजिकबाट देखे । विसं २०७२ पुस १ गतेदेखि उनले सर्वोच्च अदालतमा नायबसुब्बाको जिम्मेवारी पाए । तर कार्यालयको चमकदार कुर्सीभन्दा पनि उनलाई गाउँको माटो मन पर्यो, त्यसैले २०७४ साल मङ्सिर २५ गते शाखा अधिकृत बनेपछि उनले प्रशासनलाई व्यवहारसँग जोड्ने प्रण गरे । विसं २०७५ साल साउन ८ गतेदेखि ओखलढुङ्गाको लिखु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालेको उनले बताए ।

ओखलढुङ्गामा उनले सामुदायिक विद्यालयमा छात्रवृत्ति पारदर्शी बनाउनेदेखि गाउँकै युवासँग सडक निर्माणमा सहभागिता बढाउने अभियान चलाउँदा आनन्द मिलेको बताए । त्यसपछि चिसङ्खुगढी गाउँपालिकामा काम गर्दा स्थानीय बासिन्दासँगै पहिलोपटक ‘श्रमदानले सडक बन्छ’ भन्ने अवधारणा व्यवहारमा उतारेको उनी सम्झिन्छन् । विसं २०७८ मङ्सिर ५ गते सिन्धुलीको मरिण गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर त्यहाँ पनि श्रमदानको परम्परा स्थापित गरेको उनको भनाइ छ ।

उनी भन्छन्, “श्रमदानमा रमाउने मलाई श्रमदानबाटै धेरै विकास निर्माण भइरहेको पालिकामा काम गर्न पाउँदा थप हौसला र जोश मिलेको छ ।” विसं २०८१ असोज ४ गतेदेखि मकवानपुरको बागमती गाउँपालिकामा आएपछि यो अभियानमा जुटेको उनी बताउछन् ।

‘सेवाग्राही हाम्रा भगवान् हुन्’

दर्जी कार्यालयमा पनि उत्तिकै व्यवस्थित र अनुशासित रहनुहुने पालिका अध्यक्ष घलानको भनाइ छ । उनका अनुसार दर्जीको टेबलमा सधैँ एउटा नोट लेखिएको हुन्छ– ‘सेवाग्राही हाम्रा भगवान् हुन् ।’

दर्जीका अनुसार प्रशासन भनेको जनता र सरकारबीचको पुल हो, जसलाई पारदर्शिता, संवेदना र उत्तरदायित्वले मात्र मजबुत बनाउन सकिन्छ । “सेवा लिन आउने नागरिक हाम्रा मालिक हुन् । सकेसम्म हरेक सेवाग्राहीलाई काम लिएर खुसीसाथ फर्काउन पाए सन्तोष मिल्छ”, उनले भने ।

दर्जीले सेवाग्राहीसँग सधैँ आत्मीय व्यवहार गर्ने सेवाग्राहीहरूको भनाइ छ । बागमती गाउँपालिकामा नागरिकता, जग्गा दर्ता, कर तिर्ने प्रक्रिया सजिलो भएको स्थानीय बताउँछन् । अन्य कर्मचारीहरू पनि उहाँसँगै बिहान सबेरै कार्यालय पुग्छन् । “हाम्रो हाकिमले बिदामा पनि काम गर्नुहुन्छ भने हामी किन पछि पर्नु ?”, एक कर्मचारीले हाँस्दै भने ।

जनताको सरकार, जनताको हातबाट

दर्जी र गाउँपालिकाका अध्यक्षको सहकार्यले अहिले बागमती गाउँपालिकामा ‘जनताको सरकार’ भन्ने वाक्यांश अर्थपूर्ण बनेको छ । गाउँपालिकाले स्थानीय स्रोत परिचालन गरेरमात्र होइन, जनताको श्रम र सहभागिताबाट काम सम्पन्न गर्ने अभ्यास सुरु गरेको छ ।

साना पुल, खानेपानीका पाइप लाइन, पर्खाल र विद्यालयको शौचालय निर्माण सबै श्रमदानकै बलमा सम्भव भएका छन् । स्थानीय युवा विवेक सिन्तान भन्छन्, “दर्जी सर हामीसँगै कोदालो चलाउनुहुन्छ, उहाँ हाकिम होइन, साथी हो, जब उहाँ हामीसँगै पसिना बगाउनुहुन्छ, तब हामी पनि काम गर्न उत्साहित हुन्छौँ ।”

सिन्तानका अनुसार कार्यालयमा हाकिम नियमित र सबेरै आएमा अन्य कर्मचारी पनि उत्तिकै जिम्मेवार बन्ने रहेछ भनेर थाहा पाउन बागमती गाउँपालिका हेरे पुग्छ । श्रमदानले गाउँको एकता बलियो बनाएको सिन्तानको भनाइ छ । पहिला जात, समुदाय र विचारमा विभाजित गाउँ अहिले एउटै उद्देश्यमा जोडिएको बताउँदै उनले गाउँ आफैँ बनाउने अभियानमा लागेका कारण जेनजी आन्दोलनमा पनि पालिकाका संरचना सुरक्षित भएको हो ।

श्रम र सेवामा समर्पण

बागमतीका गाउँमा पसिना बगाउने किसानमात्रै देखिन्थे, अहिले त्यही माटोमा सरकारी अधिकृतदेखि जनप्रतिनिधिसम्म उभिएका देखिन्छन् । त्यो दृश्य हेर्दा लाग्छ– विकासको असली बाटो यन्त्र होइन, मानवको श्रम र भावना हो । दर्जीले देखाएको उदाहरणले अहिले अन्य गाउँपालिकाका कर्मचारी पनि प्रेरित भएका छन् । कसैले सडकमा झार उखेलेर सुरु गर्छन्, कसैले विद्यालयमा रङरोगन गर्छन् । श्रमदान अब सरकारी आदेश होइन, स्थानीय गौरव बन्न थालेको छ ।

नेपालजस्तो देशमा जहाँ स्रोत सीमित छन्, त्यहाँ ओमबहादुर दर्जीजस्ता अधिकृतहरू नै असली राष्ट्रसेवक हुन् । बागमती गाउँपालिकाले प्रमाणित गरेको छ– “देश विकासका लागि ठूलो बजेट होइन, साँचो निष्ठा र लगन चाहिन्छ ।” बागमती गाउँपालिकामा रङ्गशाला, कुलो, सडक, पुललगायत थुप्रै भौतिक पूर्वाधारसँग सम्बन्धित संरचनादेखि लिएर वृक्षारोपणलगायत कार्यहरू श्रमदानबाट निर्माण भएको बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट