काठमाडौं । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यु टिमले उद्धार गरेको छ।
उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट लागेका व्यक्ति, एकजना ९ वर्षीय बालक, एकजना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन्। सबैको अक्सिजन स्तर कम रहेको सशस्त्र प्रहरी बलका सह प्रबक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घण्टाको यात्रापछि सम्पन्न भएको थियो। पर्वतीय उद्दार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यु टिमले विशेष गियर र उपकरण प्रयोग गरी जोखिमपूर्ण उद्धार कार्य सम्पन्न गरेको छ। पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
उक्त शिक्षालयमा यस आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यु तालिम’ सञ्चालन गरिएको थियो। तालिमका क्रममा प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले चुलु फार इस्ट (६,०३८ मिटर) को सफल आरोहण गरेका थिए। यसले सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यु क्षमतामा वृद्धि गरेको र भविष्यमा यस्ता घटनामा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको सह प्रबक्ता थापाले बताए।
सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरू निरन्तरता दिने जनाएको छ। यसले हिमाली क्षेत्रमा हुने यस्ता जोखिमपूर्ण घटनामा पूर्वतयारीको महत्वलाई उजागर गरेको छ।
प्रतिक्रिया दिनुहोस