टोकियो । जापानमा ‘एकीकृत नेपाली घर : बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले टोकियोमा सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ–संस्थाहरूको सहकार्यमा आगामी नोभेम्बर ८ देखि १५ तारिखसम्म टोकियोको शिन्जुकु क्षेत्रमा महायज्ञ आयोजना गर्न लागिएको हो।
एनआरएनए जापानका निवर्तमान अध्यक्ष नविन निउरेले “एकिकृत नेपाली घर”को परिकल्पना साकार पार्ने उद्देश्यले करिब ३ करोड येन बराबरको जमिन चिबा केनमा खरिद प्रक्रिया पूरा भइसकेको जानकारी दिएका छन्। उनले आगामी श्रीमद्भागवत ज्ञान महायज्ञलाई सफल बनाउन जापानस्थित सबै नेपाली संघसंस्थाहरूको साथ, सहयोग र सहकार्य अपेक्षित रहेको बताएका छन्।
एनआरएनए जापानका उपाध्यक्ष मुक्तिराम खनालले ओसाकामा आयोजित पासपोर्ट घुम्ती सेवा कार्यक्रममा जानकारी दिँदै भने, “महायज्ञको उद्देश्य केवल धार्मिक क्रियाकलापमा सीमित छैन। यसले जापानमा रहेका नेपालीबीचको एकता, भाइचारा र पुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेछ। आध्यात्मिक चिन्तन र सकारात्मक सोचको आदानप्रदानका लागि यो एउटा साझा मञ्च बन्नेछ ।”
उनले सबै जापानवासी नेपालीलाई कार्यक्रममा सहभागी हुन पनि आग्रह गरे।

महायज्ञमा नेपालबाट वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे विशेष अतिथिको रूपमा सहभागी हुनेछन्।
वाचन प्रवीण पोखरेलले नेपालको कला, संस्कृति र आध्यात्मिक दर्शनलाई जापानमा प्रवर्द्धन गर्दै ‘मिनी नेपाल’ निर्माण गर्ने उद्देश्यका साथ सबै नेपालीहरूलाई उपस्थित हुन अनुरोध गरे।
“टोकियो सप्ताह जीवन र जगतको ज्ञान हासिल गर्दै मातृभूमिको सम्मान र पूर्वजहरूको विरासत जोगाउने एउटा पवित्र अवसर हुनेछ।” उनले भने।
त्यसैगरी, बौद्ध धर्मगुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले महायज्ञले नेपालीहरूबीच सामाजिक सद्भाव र आत्मीयता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
“शान्ति, सत्कर्म र सहअस्तित्वको सन्देश यस कार्यक्रममार्फत सम्प्रेषित हुनेछ,” उनले भने।
महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरी तयारीलाई तीव्र पारिएको आयोजकहरूले जनाएका छन्। साथै, जापानका सम्बन्धित निकायहरूसँग आवश्यक इजाजत र पूर्वानुमतिको प्रक्रिया पनि अघि बढाइएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस