काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय (ओडिआई) शृंखलाको अन्तिम खेलमा नेपालले आज यूएईसँग भिड्दैछ। खेल दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
जारी शृंखलामा नेपालले अहिलेसम्म लगातार तीन खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले, दोस्रो खेलमा यूएईसँग ५ विकेटले र तेस्रो खेलमा पुनः अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।
आजको खेलमा नेपालले सान्त्वना जित निकाल्दै शृंखला सकारात्मक रूपमा समाप्त गर्ने लक्ष्य राखेको छ।
लिग–२ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा छ। नेपालले १९ खेलमा १२ अंक जोड्दै सातौँ स्थानमा, जबकि यूएई ८ अंकसहित अन्तिम स्थानमा रहेको छ।
टोलीमा आज केही परिवर्तन हुने सम्भावना रहेको छ। यस शृंखलामा कमजोर प्रदर्शन गरिरहेका आरिफ शेखको सट्टा अनिल साहले मौका पाउन सक्छन्। त्यस्तै बाँयाहाते स्पिनर ललित राजवंशीको स्थानमा शाहब आलम समावेश हुन सक्ने अनुमान गरिएको छ।
नेपालका लागि आजको खेल आत्मविश्वास पुनःस्थापित गर्ने अवसरका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस