काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ।
जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बुझ्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई बुधबार उपस्थित हुन आदेश दिएको हो।
नख्खु कारागार प्रशासनका स्रोतका अनुसार उनलाई दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइनेछ।
सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँग बाहिर निस्किएका थिए। यसबेला कारागार प्रशासनले दिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो। घटना पछि उनी फेरि कारागारमै फर्किएका थिए।
आयोगको टोलीले गत सोमबार २४ भदौको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमा पुगेको थियो भने अघिल्लो दिन नख्खु कारागार प्रमुख सत्यराज जोशीसँग बयान लिइएको थियो।
प्रतिक्रिया दिनुहोस