काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको आरोप लगाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै दाहालले केही दिनयता युट्युब, फेसबुक र टिकटकका विभिन्न अकाउन्टबाट आधारहीन, भ्रामक तथा षड्यन्त्रपूर्ण सामग्री प्रसारण गरिएको भन्दै त्यसको कडा शब्दमा विरोध गरेकी हुन्।
दाहालले राजनीतिक पूर्वाग्रहका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफूहरूलाई बदनाम गर्ने प्रयास भइरहेको दाबी गर्दै यस्ता गतिविधिबारे नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएकी छन्। साथै, समाजमा भ्रम फैलाउने र दुष्प्रचार गर्ने व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेकी छन्।
उनले आफ्ना भाइ प्रकाश दाहालको असामयिक निधनपछि पार्टीको निर्णयअनुसार नेतृत्वलाई सहयोग गर्दै आएको उल्लेख गर्दै व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नगरी पार्टी र नेतृत्वको हितमा आफूले समय, ऊर्जा र क्षमता समर्पित गर्दै आएको बताएकी छन्।
दाहालले पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टी र नेतृत्वको छवि धुमिल पार्ने उद्देश्यले चलाइएको भनिएको ‘मिडिया ट्रायल’को सशक्त प्रतिवाद गर्न आग्रह गरेकी छन्।
साथै, सरकारले आवश्यक ठानेको जुनसुकै छानबिन वा अनुसन्धानमा पूर्ण सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै सत्यलाई भ्रम र अफवाहले पराजित गर्न नसक्ने दाबी गरेकी छन्।
दाहालले आम नागरिकलाई अपुष्ट सूचना र अफवाहको पछि नलाग्न आग्रह गर्दै सत्य तथ्यको आधारमा धारणा बनाउन अनुरोध गरेकी छन्।
प्रतिक्रिया दिनुहोस