काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा बजेट कार्यान्वयनसँग जोडिएको विनियोजन विधेयक प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्नेछन् । बजेटमाथिको मन्त्रालयगत छलफल र पारित गर्ने प्रक्रियाका लागि यो विधेयक महत्वपूर्ण मानिन्छ ।
यसैगरी, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । यो विधेयकले नेपालका अमूर्त कला, संस्कृति र सम्पदाको संरक्षणमा कानुनी आधार तयार पार्ने विश्वास गरिएको छ ।
आजको बैठकमा अन्तर्राष्ट्रिय सन्धि–महासन्धि पनि पेस हुनेछन् । युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) तथा बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ संसद्मा अनुमोदनका लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस