मोरङ । दशकौँदेखि कानूनी स्वामित्वविनाको जीवन बिताउँदै आएका मोरङको मिक्लाजुङ गाउँपालिकाबासीका अनुहारमा अब खुसी झल्किएको छ ।
गाउँपालिकाले सोमबार आयोजना गरेको एक विशेष कार्यक्रममा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेपछि उनीहरूले “अब साँच्चिकै सरकार घरमै आएको अनुभूति भएको” बताएका छन् ।
मिक्लाजुङ गाउँपालिकाले वडा नम्बर ९ स्थित मधुमल्ला बजार क्षेत्रमा बसोबास गर्दै आएका ६५ जना अव्यवस्थित बसोबासी र २ जना सुकुम्वासीलाई गरी कुल ६७ जनालाई कानूनी स्वामित्वसहित जग्गाधनी पुर्जा हस्तान्तरण गरेको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बबी कुमार राईले वर्षौँदेखि कानूनी स्वामित्व पाउन प्रतीक्षारत नागरिकहरूलाई अधिकार सुनिश्चित गर्न पाउँदा खुसी लागेको बताए । “हामीले जनताको मर्म बुझेर पुर्जा वितरण गरेका छौं,” अध्यक्ष राईले भने, “यो गाउँपालिकाको जनमुखी प्रतिबद्धताको प्रतिफल हो।”
यसअघि जग्गा स्वामित्व पाउने आशामा रहेका स्थानीयहरू सरकारले सुकुम्वासी आयोग खारेज गरेसँगै निराश बनेका थिए । तर सर्वोच्च अदालतले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै गाउँपालिकाले पुनः पहल गर्दै पुर्जा वितरण प्रक्रिया अघि बढाएको हो ।

भूमि समस्या समाधान आयोग मोरङका अध्यक्ष नविन पौडेलका अनुसार “जसको भोग, उसको जोत” भन्ने सिद्धान्तअनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी पुर्जा वितरण गरिएको हो ।
उनले दशकौँदेखिको समस्या अन्त्य गर्न आयोगले तथ्यगत विवरण संकलन गरी कानूनी प्रक्रिया पूरा गरेको बताए ।
यसअघि गाउँपालिकाले आयोग, कार्यदल र समितिमार्फत ५४ वटा पुर्जा वितरण गरिसकेको थियो ।
प्रतिक्रिया दिनुहोस