काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजबाट सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
यस वर्षका सबै खेलहरू त्रिवि मैदानमै दिउँसो र राति गरेर आयोजना गरिने क्यानले जनाएको छ। क्यानका अनुसार दैनिक ९,४५० टिकट बिक्री गरिनेछ। पहिलो दिनको खेलका टिकट तीन दिनअघि नै सकिएको छ। क्यानका सचिव पारस खड्काले स्टेडियम पुग्न नपाउने दर्शकलाई घरमै बसेर प्रसारण हेर्न आग्रह गरेका छन्।
एनपिएल मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। लिग चरण, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन्।
उद्घाटन दिन साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट १,५०० रुपैयाँ तोकिएको छ। लिग चरणका अन्य दिन सामान्य टिकट ५०० र प्रिमियम १,००० रुपैयाँ रहनेछ। प्लेअफपछि सामान्य टिकट १,००० र प्रिमियम २,००० रुपैयाँ पर्नेछ। सिजनल टिकटको एकमुष्ट मूल्य १५,००० रुपैयाँ निर्धारण गरिएको छ।
प्रतिस्पर्धामा आठ फ्रेन्चाइज टोली—जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स—ले सहभागिता जनाउनेछन्।
दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स पहिलो खेलमा भिड्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस