२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा, पीडित भन्छन्ः राज्यले राहत देला भनेका थियौँ आहत दियो

शुक्रवार , मंसिर १९, २०८२

बागलुङ । भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत्गृहहरू । विकासले विस्तारै जोडिदै गरेको विकट क्षेत्रका नागरिकमा खुसी पलाउँदै थियो । विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा भीषण बाढी आयो । उक्त बाढीले भूजीखोलावासीको सर्वस्व लुट्यो । दर्जनौँ नागरिकको ज्यान लियो, सयौँलाई परिवार र घरबारविहीन बनायो ।

आफन्त र भएभरको सम्पत्ति गुमाएका पीडितले अझै पनि राज्यबाट सहयोग पाउन सकेका छैनन् । सैतीस जनाको ज्यान जानेगरी आएको बाढीले पुर्याएको क्षति बेहिसाब छन् । त्योभन्दा बढी बेहिसाब छन्, बाढीपीडितको दुःख । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । बाढी गएपश्चत सरकारले पीडितको पुनःस्थापनलाई प्राथमिकता दिने भने पनि अहिलेसम्म ध्यान पुग्न नसकेको उनीहरूको गुनासो छ । घर निर्माण गरेपछि राहत उपलब्ध गराउने भनिए पनि अहिलेसम्म धेरैले भुक्तानी पाएका छैनन् ।

बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का एक सय ३१ घर बगाएको थियो । पीडितले ऋणधन गरेर अहिले घर बनाइसके । तर राहत अझै पाएका छैनन् । ढोरपाटन–९ का बाढीपीडित लालबहादुर विकले घर बनाउन सरकारले रकम पठाउने आश्वासन दिए पनि अहिलेसम्म कत्ति पनि सहयोग नपाएको गुनासो गरे । बाढीले उनको जेठो छोरा र भएभरको घरसम्पत्ति बगाएको थियो । राहत आउँछ भन्दाभन्दै पाँच वर्ष बितिसकेको भन्दै अब पाउन आशासमेत मरिसकेको उनी बताउछन्।

विकले भने, “बाढीले भएभरको सम्पत्ति बगायो, छोरो बगायो, कति समय त पालमुनि बस्यौँ, सधैँभरि पालमुनि बसेर जीवन चल्दोरैनछ, सरकारले पनि राहत दिन्छ घर बनाउ भनेपछि गाउँमा ऋण काढेर घर बनायौँ, तर अहिले न सरकारले पैसा दियो, न साहुको ऋण तिर्न सकियो, हामीहरू धेरै पीडामा पर्यौँ, राज्यले राहत देला भनेका थियौँ आहत दियो ।”

अर्का पीडित नारायण पुनले सरकारबाट पाउने भनिएको चार लाखमध्ये अहिलेसम्म कत्ति पनि रकम पाउन नसकेको सुनाए । बाढीमा आमा र घर बगाएको भन्दै अहिले घर निर्माण गरिसकेको बताए । केही आफ्नो कमाइ र केही रकम ऋण गरेर घर बनाएको उनको भनाइ छ । नेताहरूले आफ्ना वरपरका र नजिकका आफन्तलाई मात्र राहत दिलाएको पुन बताउछन् । “हामी राम्रोसँग कुरा राख्न पनि नसक्ने सिधा भयौँ, टाढाबाठाले त पाउनुपर्ने राहत पाइसके, राहत पाएपछि ऋण तिर्नेगरी घर बनायौँ तर अहिलेसम्म पाउन सकेनौँ”, उनले भने।

सोही ठाउँका बाढीपीडित कुलबहादुर विकले घर बनाएको ऋणले अहिले समस्यामा परेको बताए । बाढीले घरजग्गासहित २२ वर्षका जेठो छोरा, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको सुनाउँदै अहिले ऋणको भारीले थिचिरहेको विकले सुनाए। आफूले जम्मा दुई लाख ५० हजार पाएको भन्दै घर बनाउँदा पाँच लाख खर्च भएको उनको भनाइ छ ।

“बाढीले परिवार नै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो, अहिले साहुले पैसा माग्छन्, आफूलाई बिहान के खाउँ, बेलुका के खाउँ भन्ने पिर छ, अहिले ऋणले डुबायो, के गरेर तिर्ने, गाउँका अरु धेरै बाढी पीडितहरूको अवस्था मेरोजस्तै छ”, उनले भने ।

बाढीले ११ वटा लघुजलविद्युत आयोजना, एउटा स्वास्थ्य एकाइ, ११ वटा झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पुर्याएका जलविद्युत, विद्यालयको पुनःनिर्माण भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । सङ्घीय सरकारले १८ जना बाढीपीडितलाई घर बनाउन सबै किस्ता उपलब्ध गराए पनि अझै धेरैले एक किस्ताबाहेक अरु रकम नपाएको उनको भनाइ छ ।

उपप्रमुख कायतले भन्नुभयो, “पीडितहरूले प्राविधिक स्टिमेटअनुसार घर बनाउनुपर्ने हो, विभिन्न कारण उनीहरूले सकेनन्, तर घरचाहिँ सबैको बनेको छ, सरकारले दिने रकम एकतिहाइले पनि पाउन सकेका छैनन्, यसका लागि हामीहरूले पहल गरिरहेका छौँ, बाढीले बगाएका विद्यालय, स्वास्थ्य संस्था, पुल र सडक पुनःनिर्माण भएर सञ्चालनमा आइसके ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट