२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

आइतवार , पौष ६, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका थिए ।

सरकारले विसं २०७८ को जनगणनाको प्रतिवेदनअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसङ्ख्याको प्रतिशतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची (१) लाई संशोधन गर्न सिफारिस गरेको थियो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४ (पहिलो संशोधन) अध्यादेश, २०८२ ले गरेको व्यवस्थाअनुसार आयोगले समानुपातिक प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवार सिफारिस गर्दा पछिल्लो जनगणनाबमोजिम समावेशी समूहको प्रतिशत मिलाएर सिफारिस गर्नुपर्ने निर्णय गरेको जानकारी दिए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा गरिएको २०६८ सालको जनगणनामा दलितको जनसङ्ख्या १३ दशमलव आठ रहेकामा २०७८ को जनगणनामा सामान्य घटेर १३ दशमलव चार भएको छ । आदिवासी/जनजातिको अघिल्लो जनगणनामा २८ दशमलव सात रहेकामा पछिल्लोमा २८ दशमलव दुई रहेको छ । खस आर्य समूहको अघिल्लोमा ३१ दशमलव दुई रहेकामा पछिल्लोमा सामान्य घटेर ३० दशमलव तीन पुगेको छ ।

थारू समुदायको छ दशमलव छ बाट छ दशमलव पाँच प्रतिशत भएको छ । मुस्लिम र मधेसीको जनसङ्ख्यामा सामान्य वृद्धि भएको छ । विसं २०६८ को जनगणनामा मुस्लिमको चार दशमलव चार रहेकामा २०७८ को जनगणनामा चार दशमलव नौ प्रतिशत देखिएको छ । मधेसी समुदायको १५ दशमलव तीन बाट बढेर १६ दशमलव तीन पुगेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशत गर्नुपर्ने देखिएकाले अध्यादेश जारी भएको हो ।

प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसङख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्नुपर्नेछ ।

उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १०: ०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समयसीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार