काठमाडौं । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औं संस्करण आउँदो माघ २४ गते शनिबार आयोजना हुने भएको छ ।
नेपाली सेनाले आइतबार भद्रकालीमा पत्रकार सम्मेलन गर्दै २६३ औं सेना दिवसको अवसरमा आगामी माघ २४ गते प्रधानसेनपति खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो । ४२.१९५ किलोमिटरको पुरुष खुल्ला म्याराथन, २१ किलोमिटरको पुरुष तथा महिला हाफ म्याराथन, १० किलोमिटर दौड र पाँच किलोमिटर वाकाथन र दौडको आयोजना हुने सेनाले जनाएको छ ।
४२.१९५ किलोमिटरको पुरुष खुल्ला म्याराथनका बिजेताले तीन लाख रुपैयाँ नगदसहित मोटरसाइकल पुरस्कार जित्नेछन् । दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख प्राप्त गर्नेछन् । त्यस्तै हाफ म्याराथनतर्फ पुरुष तथा महिला तर्फका बिजेताले रु १ लाख र मोटरसाइकल र स्कुटर , दोस्रोले ७५ हजार र तेस्रो खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले १०, दोस्रोले ७ र तेस्रो खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने सेनानी गगन महतराले जानकारी दिए ।
सेनाले म्याराथनमा २ सय ५०, हाफ म्याराथनमा ६ सय, १० किमीमा ८ सय, ५ किमी वाकाथन र दौड गरि ५ सय ५० तथा अफिसियल गरि ३ सय गरि २ हजार ५ सयको सहभागिता रहने विश्वास लिएको छ भने भद्रकालीस्थित जंगी अड्डाबाट सुरु हुने म्याराथन विभिन्न स्थान हुँदै पुनः सोही ठाउँमा आएर टुंगिने सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस