२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

परिवर्तनको एजेन्डासहित चुनावी मैदानमा उत्रिएको हुँ : सविन निरौला

आइतवार , माघ १८, २०८२

मोरङ । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका २७ वर्षीय युवा नेता सविन निरौलाले आफू परिवर्तनको एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।

सुनौलो नेपाल टिभीसँगको कुराकानीमा उम्मेदवार निरौलाले विगतमा निर्वाचित भएर गएका प्रतिनिधिहरूले जनताले अपेक्षा गरेको परिवर्तन दिन नसकेको भन्दै त्यसैको विकल्पका रूपमा आफू उम्मेदवार बनेको स्पष्ट पारे।

“हिजो निर्वाचित भएर गएका सांसदहरू जनताको घरदैलोमा पुगेनन्, समस्याहरू संसदमा उठेनन्, त्यसैले अब परिवर्तन अपरिहार्य भएको छ,” उनले भने।

निरौलाका अनुसार मोरङ–६ ऐतिहासिक र राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्र हो। पूर्वाञ्चलको केन्द्रका रूपमा रहेको यो क्षेत्रबाट हुने परिवर्तनले देशकै राजनीतिमा प्रभाव पार्ने उनको दाबी छ। “जसरी काठमाडौँबाट परिवर्तनको संकेत देखियो, त्यसरी नै अब पूर्वाञ्चलबाट मोरङ–६ ले परिवर्तनको सुरुवात गर्नेछ,” उनले विश्वास व्यक्त गरे।

शिक्षा, स्वास्थ्य र कृषि प्रमुख एजेन्डा

उम्मेदवार निरौलाले निर्वाचित भएमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउने बताए। उनका अनुसार सरकारी विद्यालयको गुणस्तर सुधार गरी निजी विद्यालयजस्तै सक्षम बनाइनेछ। “सरकारी विद्यालयमै पढेर प्रधानमन्त्री, डाक्टर, इन्जिनियर बन्न सक्ने वातावरण बनाउनु मेरो लक्ष्य हो,” उनले भने।

स्वास्थ्य क्षेत्रमा भने स्वास्थ्य चौकीप्रति जनताको विश्वास घटेको उल्लेख गर्दै उनले ग्रासरुटबाट सुधार गर्ने बताए। विपन्न तथा अतिविपन्न परिवारका लागि राज्यले घोषणा गरेको निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा लागू गराउने उनको भनाइ छ।

कृषि क्षेत्र मोरङ–६ को मुख्य समस्या भएको बताउँदै उनले कृषिमा दिइने अनुदानको दुरुपयोग रोक्ने प्रतिबद्धता जनाए। “कृषिको अनुदान पहुँचवाला होइन, साँचो किसानसम्म पुग्नुपर्छ,” उनले भने।

रोजगारी र व्यवसायिक हबको अवधारणा

निरौलाले बिराटनगर र मोरङ–६ लाई कर्पोरेट तथा व्यवसायिक हबका रूपमा विकास गर्ने योजना पनि सुनाए। “यहाँ उद्योग, नाका र बजार सबै छन्। शिक्षा, स्वास्थ्य, रोजगारीका लागि अब पूर्वाञ्चलका युवाले बिराटनगर छोडेर बाहिर जानु नपर्ने अवस्था बनाउँछौँ,” उनले बताए। व्यवसायीमाथि हुने चन्दा आतंक, अनावश्यक कर र राज्यको असहयोग अन्त्य गर्न संसदमा आवाज उठाउने प्रतिबद्धता पनि उनले जनाए।

‘डाइरेक्ट एक्सेस’ नै मेरो जितको आधार

भारी तौलका नेतासँग प्रतिस्पर्धा भइरहे पनि आफू जनतासँग प्रत्यक्ष पहुँचमा रहेको भन्दै निरौलाले यही नै आफ्नो जितको आधार भएको बताए।

“म फोन गरेकै भरमा जनताकोमा पुग्न सक्छु। पाँच वर्षसम्म जनताको आवाज संसदमा बुलन्द पार्नेछु,” उनले भने।

धार्मिक, जातीय र सांस्कृतिक विविधताले भरिएको मोरङ–६ मा सबै समुदायको साथ र विश्वास आफूलाई रहेको दाबी गर्दै उनले सनातन धर्म–संस्कृतिको संरक्षण गर्दै सामाजिक समावेशीतामा आधारित विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट