काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ लाख ६८ हजार २८८ रूपैयाँ घुस लिएको आरोपमा भन्सार अधिकृतसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन् । उनलाई अख्तियारको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
नेपालबाट कुरिअरमार्फत सामान पठाउँदा सेवाग्राहीसँग घुस लिएको उजुरीपछि अख्तियारले टंगालबाट टोली खटाएको थियो । अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १० हजार घुस, उनकै घर्राबाट स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ र उनको साथबाट ९६ हजार ७० रुपैयाँ गरी १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ । त्यस्तै नासु रिजालले सेवाग्राहीबाट लिएको २० हजार स्रोत नखुलेको १८ हजार ८४८ गरी ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस